बैंक हाँक्न तयार छन् यी महिला बैंकर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक रामशाह पथमा रहेको मुख्य कार्यालयको तेस्रो तल्लामा पुग्दा डेपुटी सीईओ सरस्वती अधिकारी आफ्नै काममा व्यस्त थिइन् । टेबलमा रहेका फाइलका चाङ नियालिरहेकी उनी विभागिय मिटिङमा जाने तयारीमा थिइन् ।

‘बैंकको जागिर त्यसमा पनि व्यवस्थापकीय भूमिकामा रहेपछि कामको दबाब बढी नै हुन्छ,’ कागजात मिलाउँदै अधिकारीले क्लिकमान्डुसँग भनिन् ।

डेढ वर्षदेखि अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओका रुपमा बैंकमा कार्यरत छिन् । १६ वर्ष बैंकदेखि राष्ट्रिय वाणिज्य बैंकमै काम गरिरहेकी अधिकारीकाअनुसार धैर्यता र जोखिम विश्लेषण गर्ने क्षमताले महिलालाई कुशल नेतृत्वकर्ता बनाउन सहयोग गर्छ ।

‘हाम्रो विभागमा अधिकांश महिला कर्मचारी नै हुनुहुन्छ,’ उनले भनिन्, ‘अबको केही वर्षमा यहाँ बैंकको नेतृत्व गर्ने महिलाको कमी हुने छैन ।’

पुरुषको तुलनामा महिला जोखिमप्रति थप संवेदनशिल हुने हुँदा वित्तीय क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहने उनी बताउँछिन् । त्यसो त पछिल्लो समय बैंकको व्यवस्थापन र उच्च व्यवस्थापनमा महिलाको बढ्दो उपस्थितिले भावी दिनमा कार्यकारी तहमै पुग्ने सहजै विश्लेषण गर्न सकिन्छ ।

एकातिर संविधानले नै महिलाको सहभागितालाई प्रोत्साहन गरेको छ भने अर्कातिर महिलाहरु खरो प्रतिस्पर्धामा उत्रिएर करिअरमा फड्को मारिरहेका छन् ।

महिलाहरु घरको काममा मात्रै सीमित हुनुपर्छ भन्ने परम्परागत मान्यतालाई तोड्दै महिलाहरु रोजगारीमा करिअर बनाउँदै गइरहेका छन् । यसलाई लैंगिक क्रान्तिकारुपमा समेत हेर्न सकिने बताउँछन् पूर्वबैंकर भुवन दहाल ।

‘महिलाहरु पुरुषभन्दा केही हिसाबमा कम हुनुहुन्न, उहाँहरुको प्रस्तुति धैरै राम्रो हुन्छ, बैंकिङ क्षेत्रका महिला कर्मचारी पुरुष वा सो सरह नै इमान्दार, मेहनती छन्,’ दहालले थपे, ‘नेतृत्वमा भएकाहरुले विभेद नगरी उहाँहरुलाई अगाडि बढ्ने बाटो दिनुपर्छ ।’

महिलाको तुलनामा पुरुषहरु विदेशीने क्रम बढेको हुँदा बैंकिङ क्षेत्रमा पछिल्लो समय नियुक्ति पाएका कर्मचारीमा महिलाको बाहुल्यता भएको उल्लेख गर्दै दहालले सोही कारण भविष्यमा बैंकिङ क्षेत्रमा पुरुष कर्मचारीभन्दा बढी महिला कर्मचारी हुने बताए ।

राष्ट्रिय वाणिज्य बैंकमै दोस्रो र तेस्रो बरियतामा महिलाको उपस्थिति बाक्लै देखिन्छ । सरस्वती पछिल्लो पुस्ताका महिला कर्मचारीहरु बैंक सम्हाल्ने हुटहुटीसहित काम गरिरहेको बताउँछिन् ।

‘हामीले काम सुरु गर्दा बैंकलाई आकर्षक जागिरको रुपमा मात्र हेरिन्थ्यो, अब करियर केन्द्रित भएका महिलाहरु यस क्षेत्रमा बलियो उपस्थिति जनाउँदै छन्,’ उनी थप्छिन्, ‘बैंकहरुको कार्यक्रममा जाँदा महिलाको रुपमा एक्लै हुने अन्तिम पुस्ता हामी नै हुन्छौं जस्तो लाग्छ ।’

अधिकारीकाअनुसार अहिले विभागीय नेतृत्व सम्हाल्ने अधिकांश महिला बैंकर सीईओ हुने क्षमताका छन् ।

बैंकमा डेढ दशकअघि र अहिले बैंकमा महिलाको उपस्थितिमा धेरै अन्तर देख्छिन् अधिकारी । २०६४ सालमा राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा दक्ष जनशक्ति माग गर्दा सरस्वतीसहित ५ जना महिलामात्रै छनोट भएका थिए । चार्टर्ड एकाउन्टेन्टकारुपमा उनीसहित ५ महिलाले आठौं तहमा काम गर्ने अवसर पाए पनि नेतृत्वदायी भूमिकामा आइपुग्ने उनी एक्ली हुन् ।

सरस्वतीपछिको पुस्ता वाणिज्य बैंकमा उल्लेख्य छन् । यद्यपि, उनको पुस्ताका महिला बैंकर भने बिरलै मात्र नेतृत्वमा पुगेका भेटिन्छन् ।

डेपुटी सीईओको जिम्मेवारी बहन गर्दै आएकी सरस्वती उमेरले ४३ कटिन् । भारतमा चार्टर्ड एकाउन्टेन्ट विषयको पढाइ सकेर नेपाल फर्केकी उनी बैंकको आठौं तहमा सुरुवातमै काम गर्न पाउने भाग्यमानीमध्ये पर्छिन् । २०६४ सालमा बैंकले नेपाल र बाहिर पढेका चार्टर्ड एकाउन्टेन्ट तथा इन्जिनियरहरुलाई एकैपटक आठौं तहमा माग गर्दा सरस्वतीसहित ५ जना महिलाले उपल्लो पोष्टबाटै बैंकमा जागिर सुरु गरेका थिए ।

‘सायद तल्लो तहबाटै सुरु गरको थिएँ भने म यति छिट्टै यो तहमा आइपुग्न गाह्रो हुन्थ्यो कि,’ उनी भन्छिन्, ‘हामी एकैपटक ठूलो पदमा नियुक्त हुने भाग्यमानी समूह थियौँ, त्यसमा ४ जना महिला थियौं, अहिले म मात्रै बाँकी छु ।’

राष्ट्रिय वाणिज्य बैंकमा काम सुरु गरेपछि मात्रै बैकिङ करियरबारे रुचि बढेको उनको भनाइ छ । बजेट शाखामा डेपुटी म्यानेजरको रुपमा २०६४ सालमा वाणिज्य बैंकको जागिरे बनेकी उनी डेढ दशकमै बैंक हाक्ने कुर्सीमा छिन् । र, भविष्यमा योभन्दा माथिल्लो पदको जिम्मेवारीको अवसर आए आफूपछि नहट्ने उनले बताइन् ।

केही महिनाभित्रै वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल सकिँदैछ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले एकै व्यक्ति एउटै संस्थामा लगातार दुई कार्यकालभन्दा बढी सीईओ बन्न नपाउने व्यवस्था गरेको छ । जसअनुसार श्रेष्ठको कार्यकाल सकिएसँगै बैंकमा नयाँ सीईओको खोजी हुँदा डेपुटी सीईओका रुपमा कार्यरत अधिकारी पनि बलियो दाबेदार हुनेछिन् ।

समता पन्त

बैंक हाँक्ने महिलामा अहिले सरस्वती मात्रै छैनन् । नेपाल बैंकको डेपुटी सीईओमा कार्यरत समता पन्त पनि छिन् । केही समयअघि तत्कालीन सीईओ कृष्ण अधिकारीको कार्यकाल सकिएपछि समताले नै कायमुकायम सीईओको जिम्मेवारी सम्हालिन् । सीईओका लागि उनी आकांक्षी भए पनि सरकारले उनलाई नियुक्ति नगर्दा यो पटक उनको सपना पूरा हुन सकेन ।

जागिरको सुरुवात गरेकै बैंकमा दुई दशकदेखि आवद्ध उनी कुशल बैंकरमात्र होइनन्, कुशल नेतृत्वकर्ताका रुपमा पनि परिचित छिन् ।

२०६१ सालमा नेपाल बैंकको व्यवस्थापनलाई राष्ट्र बैंकले आफ्नो स्वामित्वमा लिएपछि समताले नेपाल बैंकमा पहिलो पाइला राखेकी थिइन् । अत्याधिक खराब कर्जा बढेपछि र सुशासन कमजोर बनेपछि नियामक राष्ट्र बैंकले नेपाल बैंकलाई आफ्नो नियन्त्रणमा लिएर सुधार गरेको थियो । सरकारी बैंक सुधार गर्न राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम नै चलाएको थियो ।

पन्तले त्यसबेलाको उतारचढावलाई राम्ररी नियालेकी छिन् । घाटामा सञ्चालन भइरहेको नेपाल बैंकको कमजोर व्यवस्थापनदेखि व्यवस्थित बनाउन उनको भूमिका स्मरणीय रहेको बैंककै पूराना कर्मचारीहरु बताउँछन् ।

शंकरदेव क्याम्पसबाट एमबीए सकेकी समताको करिअर नेपाल बैंकबाटै सुरु भएको हो । अधिकृत तहबाट सुरु गरेको उनको झण्डै दुई दशकको मिहेनत र अनुभवले समतालाई बैंक सम्हाल्ने नेतृत्वमा पुर्याएको हो । ‘म बैंकमा आउँदै गर्दा बैंक समस्याग्रस्त अवस्थामा थियो, त्यसैकारण राष्ट्र बैंकले टेकओभर गरेर नयाँ कर्मचारी भर्ति गर्यो, म त्यहि लटमा बैंकर भएँ’ उनी भन्छिन् ।

रश्मी पन्त

बैंकको व्यवस्थापन सम्हाल्ने महिलाको सूचीमा भेटिन्छिन् प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त । पढाइको शिलशिलामा विदेसिने सोच बनाएकी रश्मीको पाइला प्रभु बैंकतर्फ मोडिँदा उनी बैंकरमात्र बनिनन् २ सय १५ वटा शाखा भएको प्रभु बैंकको व्यवस्थापन सम्हाल्ने अभिन्न अंग पनि बनिन् ।

सन २०१५ मा बिजनेश प्लानिङ अफिसरको रुपमा प्रभु बैंकमा आफ्नो करियर सुरु गरेकी उनी सात वर्षमा नै बैंकको व्यवसायिक नेतृत्व सम्हाल्ने कुर्सीमा छिन् ।

स्पष्ट वक्ता र निडर निर्णयकर्ताको छवि बनाएकी रश्मीलाई बैंककै धेरैले भावी सीईओको रुपमा हेर्ने गरेका छन् । रश्मी ‘करियर ग्रोथ’ रोकिन नहुने बताउँछिन् । ‘यो तहमा नै मेरो लक्ष्य सकियो भन्ने होइन, महिलाले बैंकको व्यवस्थापन गर्न मात्रै होइन समग्र बैंक नै हाँक्न सक्छने् भन्ने भाष्य समाजमा स्थापित गर्नु छ’ रश्मी भन्छिन् ।

बैंकिङ क्षेत्रको व्यवसायिक निर्णयमा महिलाको भूमिका न्यून रहँदै आएको छ । रश्मी वित्तीय क्षेत्रमा धैर्यता र जोखिम मूल्यांकन गर्न सक्ने क्षमता तुलनात्मक रुपमा महिलामा धेरै हुनाले व्यवस्थापकीय भूमिकामा महिलाको संख्या बढाउनुपर्ने तर्क गर्छिन् । ‘आम मानिससँग जोडिएर उनीहरुको विश्वास जित्न महिलाहरु अब्बल छन्, मात्रै म गर्नसक्छु भन्ने मनोबल आवश्यक छ’, उनी भन्छिन् ।

महेन्द्रनगरमा जन्मिएकी रश्मीले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी छिन् । बिजनेश प्लानिङ अफिसरको रुपमा काम गरेको पाँच वर्षपछि उनी २०२० मा चिफ अपरेटिङ अफिसरमा बढुवा भएकी थिइन् । उनले चिफ अपरेटिङ अफिसरको रुपमा तीन वर्ष काम गरिन् । रश्मीलाई हालसालै बैंकले चिफ विजनेश अफिसरमा बढुवा गरेको छ ।

रश्मीले महेन्द्रनगरबाटै १२ कक्षासम्म पढिन् । विज्ञान विषयमा प्लस टु सकेर डाक्टर बन्ने सपना बोकेर काठमाडौँ आएकी थिइन्, उनी । डाक्टर पढ्न नपाएपछि पोखरा विश्वविद्यालयबाट बीबीए गरिन् । काठमाडौँ विश्वविद्यालयबाट एमबीए सकेकी रश्मीले त्यसपछि मात्रै बैंकिङ करियर रोजेकी थिइन् । बैंकर बनेको ७ वर्षमै प्रभु बैंकको व्यवस्थापन समूहमा पुग्ने महिला हुन्, रश्मी ।

आरती राज्यलक्ष्मी राणा

असिस्टेन्ट म्यानेजरको रुपमा बैंकिङ करियर सुरु गरेकी आरती राज्यलक्ष्मी राणा पनि बैंक सम्हाल्ने दोस्रो बरियतामा पर्छिन् । बैंक सम्हाल्ने सीमित महिलामा पर्न सफल आरती लक्ष्मी सनराईज बैंकको चिफ बिजनेश अफिसर हुन् ।

सन् २००७ बाट ग्लोबल आइएमई बैंकमा सहायक प्रबन्धकबाट बैंकिङ करियर सुरु गरेकी उनले १२ वर्षसम्म काम गरिन् । सन् २०१९ मा तत्कालीन सनराईज बैंकको महाप्रबन्धक पदमा नियुक्त भएपछि राणाको बैंकिङ करियरले गति लिन थाल्यो ।

तत्कालीन सनराईज बैंकमा साढे ४ वर्ष महाप्रबन्धककारुपमा काम गरेकी उनलाई बैंकले २०२० मा डेपुटी सीईओ बनायो । झण्डै ३ वर्ष ४ महिना डेपुटी सीईओको जिम्मेवारी सम्हालेकी आरती लक्ष्मी बैंकसँग सनराइज बैंक मर्जरमा गएपछि बनेको लक्ष्मी सनराईज बैंकमा डेपुटी सीईओको (चिफ बिजनेश अफिसर)को रुपमा कार्यरत छिन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सञ्चालक समिति अध्यक्ष नै महिला छिन् । चार्टर्डको अध्यक्षमा जरिन दारुवाला छिन् । त्यस्तै नेपाल एसबिआई बैंकको अध्यक्ष सन् २०२२ देखि जयन्ति बन्सल छिन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सुजता जोशी र प्रज्ञा पाण्डे डीजीएम (डेपुटी जनरल म्यानेजर) पदमा कार्यरत छन् भने जेनु थापा, निकिता मास्के र सिर्जना पाण्डे एजीएम (एसिस्टेन्ट जनरल म्यानेजर) पदमा कार्यरत छन् ।

सिदार्थ बैंकमा चिफ इन्टीग्रेटेड रिक्स डिपार्टमेन्ट प्रमुखको जिम्मेवारीमा छिन्, शैलजा ज्ञवाली ।

व्यवस्थापनमा महिला सहभागिता बढ्दो

बैंकको विभागीय प्रमुखमा महिला सहभागिता बढ्दो छ । राष्ट्रिय वाणिज्य बैंकको विभागमा ३० प्रतिशत महिला रहेको बताउँछिन् डेपुटी सीईओ अधिकारी । अन्य बैंकमा विभाग सम्हाल्नेहरुमा महिलाहरु पनि मनग्य भेटिन थालेका छन् ।

भारती पाण्डे

लक्ष्मी सनराईज बैंकमै उच्च व्यवस्थापनमा भारती पाण्डे छिन् । पाण्डेले बैंकको स्टारटेजिक मार्केटिङ र कम्युनिकेशन विभागको प्रमुखको नेतृत्व सम्हाल्दै आएकी छन् । त्यस्तै, लक्ष्मी सनराईज बैंकमा एएमएल सेफ्टी विभाग प्रमुखका रुपमा अनिता उपाध्याय, अनुपालना प्रमुखमा विनिता जैन, प्रायोरिटि बैंकिङ हेडमा पूजा शाह, ट्रेजरी हेडमा प्रज्ञा अधिकारी र ब्रान्च अपरेशन सपोर्ट विभाग प्रमुखमा कञ्चन जोशी कार्यरत छन् ।

त्यस्तै, ग्लोबल आइएमई बैंकमा शान्ता शिवाकोटी प्रदेश कार्यालय कोअर्डिनेटरको रुपमा कार्यरत छिन् । ग्लोबल आइएमईमै वरिष्ठ प्रबन्धकमा अनामिका सिंह, स्वेच्छा शाह राणा रेमिट्यान्स बिजनेश प्रमुख र रिचा श्रेष्ठ अनुपालना र संस्थागत सुशासन इकाइ प्रमुखका रुपमा कार्यरत छन् ।

त्यस्तै, हिमालयन बैंकमा वरिष्ठ प्रबन्धकका रुपमा शिशम प्रधानाङ्ग जोशी र भवानी घिमिरे कार्यरत छन् ।

त्यस्तै, एभरेष्ट बैंकको जोखिम व्यवस्थापन विभागमा जमुना तम्राकार र अपरेशनल विभागमा प्रिति लामा विभागीय प्रमुखको रुपमा कार्यरत छन् ।

प्रभु बैंकमा ४ जना महिला कर्मचारी विभागीय प्रमुख छन् । बजार तथा तरलता जोखिम विभाग प्रमुखमा प्रज्ञा सिँजापति, सञ्चालन जोखिम विभागको प्रमुखमा दीक्षा श्रेष्ठ, सरकारी संस्थाहरुको निक्षेप र प्रिभिलेज बैंकिङ विभागको प्रमुखमा अन्जु बस्नेत र सर्भिस एक्सिलेन्सी, इन्फोर्समेन्ट, रिकन्सिलेशन र डाटा अर्काइभिङ विभागको प्रमुखमा अनुपमा शेरचन छिन् ।

त्यस्तै, सिटिजन्स बैंकको मानव संशाधन प्रमुखमा मनिषा कर्ण, रिसर्च एन्ड डेभलपमेन्टमा भावना ओझा, सम्पत्ति शुद्धीकरण विभागमा आकांक्षा बस्नेत, डिम्याट र आस्वा विभागमा रोजिना तिवारी, कर्पोरेट सञ्चार विभागमा स्मारिका तिवारी र कल सेन्टर प्रमुखमा रचना खतिवडा कार्यरत छन् ।

सानिमा बैंकमा एसिस्टेन्ट चिफ रिक्स अफिसरमा रमा खड्का, डिपोजिट हेडमा रमिला श्रेष्ठ, अपरेशन कन्ट्री हेडमा सबिना श्रेष्ठ, बाग्मती प्रदेश प्रमुखमा सत्यादेवी निरौला, योजना तथा वित्त विभागमा प्रभा आचार्य, कर्जा शाखा प्रमुखमा पुजन वैद्य, आन्तरिक लेखापरीक्षण विभागको उपप्रमुखमा सबिता ढकाल, इनचार्ज जनरल सर्भिस विभागमा अम्बिका खतिवडा, भुक्तानी विभाग प्रमुखमा सितु श्रेष्ठ कार्यरत छन् ।

एनएमबि बैंकको ट्रेड फाइनान्समा पुष्पा अर्याल, ब्रान्ड एन्ड मार्केटिङमा प्रनिशा श्रेष्ठ र इन्फरमोशन सेक्युरिटी डिपार्टमेन्टमा दिपा श्रेष्ठ नेतृत्व गरेका छन् ।

त्यसैगरी, कुमारी बैंकमा रेनु कोइराला, प्रिति शाह, अञ्जना मिश्र र रिना थापा विभागिय प्रमुखको जिम्मेवारीमा छन् ।

माछापुच्छ्रे बैंकमा विभागीय जिम्मेवारी पाउने महिलाको संख्या उल्लेख्य छ । रिचा पाण्डे इन्टिग्रेटेड रिक्स डिपार्टमेन्टको डेपुटी चिफका रुपमा कार्यरत छिन् । त्यस्तै, रेश्मा शाक्य ट्रेजरी हेड, अपरेशन तथा मनिटरिङ इकाइको डेपुटी चिफमा प्रतिमा पाण्डे, प्रोजेक्ट म्यानेजमेन्ट अपरेशन प्रमुखमा बिनिता ताम्राकार, शाखा समन्वय विभाग प्रमुखमा पूजा गोन्गाल, केन्द्रीय सञ्चालन विभागको उपप्रमुखमा सुविना श्रेष्ठ कार्यरत छन् ।

नेपाल बैंकको कर्जा असुली विभाग प्रतिमा श्रेष्ठको नेतृत्वमा छ । त्यस्तै, निलुजा श्रेष्ठ अनुपालना विभाग, सचिता पराजुली गण्डकी प्रदेश प्रमुख, उमा नकर्मी सुदूरपश्चिम प्रदेश प्रमुख, प्रतिभा डंगोल योजना तथा बजेट डिपार्टमेन्ट प्रमुखका रुपमा कार्यरत छिन् ।

त्यसो राष्ट्रिय वाणिज्य बैंकमै पनि डेपुटी एक्जुकेटिभको अफिसरमा दुर्गा कुमारी कँडेल छिन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि उप-महाप्रबन्धकदेखि सहायक महाप्रबन्धकसम्मका पदमा ४ जना महिला नै छन् ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार बैंकिङ क्षेत्रमा करिब ३७ प्रतिशत महिला कर्मचारी छन् । तत्कालीन मेगा बैंककी पूर्वसीईओ अनुपमा खुञ्जेली महिलाको सहभागिता शाखा व्यवस्थापनमा समेत बढ्दै गएको बताउँछिन् । एक दशक अघिसम्म विभागीय प्रमुखमा महिलाको उपस्थिति न्यूनजस्तै देखिए पनि अहिले बैंकको व्यवस्थपनमा नै महिलाको हस्तक्षेप बढ्न थालेको उनको भनाइ छ ।

‘महिलाहरु आक्रामक रुपमा बैंकमा आएका छन्, बैंकिङमा करियर बनाउँछु भनेर दक्ष महिलाहरु आउने क्रम बढ्दो छ’ उनले भनिन् ।

खुञ्जेलीले नेतृत्व गर्दा नै मेगा बैंक महिलाहरुको समूहले नेतृत्व गर्ने बैंकको रुपमा चिनिएको थियो । महिला बैंक चलाउन सक्षम छन् भन्ने देखाउन आफूहरुको कार्यकाल सफल भएको उनी ठान्छिन् । खुञ्जेली अहिले अवकासप्राप्त जीवन बिताइरहेकी छिन् भने उनकै सहकर्मी रविना देशराज पनि डेपुटी सीईओ र कायममुकायम सीईओको रुपमा कार्यभार सकेपछि रिटायर्ड लाइफ बिताइरहेकी छन् ।

तत्कालीन एनसीसी बैंकमा डेपुटी सीईओ रहेकी बन्दना पाठक अवकासपछि अहिले एनएमबि बैंकमा सञ्चालक छिन् । तत्कालीन एच एन्ड बी डेभलपमेन्टकी सीईओ जसोदा सैँजू अहिले बीबी होल्डिङसमा चिफ अपरेटिङ अफिसर (सीओओ) छिन्।


सम्झना घिमिरे