बिग्रिएका विद्युतीय चार्जिङ स्टेसन बनाउन बेवास्ता, समस्यामा सेवाग्राही



चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झन्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन अहिलेसम्म पनि नबन्दा सेवाग्राही समस्यामा परेका हुन् ।

सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा चार्ज गर्ने नोजल फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रिएका छन् । हाल एउटा एसी चार्जरमात्र सञ्चालनमा छ ।

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको बताए । एसी चार्जरबाट चार्ज गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहेको उनले जनाए ।

उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए । ‘डीसीबाट झन्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो,’ उनले भने, ‘अहिले त दुई-तीन घण्टा कुर्नुपर्छ ।’

सरकारले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्नेतर्फ ध्यान नदिएको गुनासो उनले गरे । धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाम लागेरमात्रै चार्ज गर्न पाइने गरेको उनको भनाइ छ ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए । उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक-दुई दिनमै आउने जानकारी गराए ।

‘भन्सारमा सामान आएको हप्ता दिन भयो,’ उनले भने, ‘सम्भवत: आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ ।’ उनले एक-दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए ।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ ।

देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको उनले बताए । उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए ।

उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए । उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए । चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु