बतास ट्र्याक्टर कम्पनीको व्यापार ह्वात्तै घट्यो, २५ करोड मात्रै कारोबार



काठमाडौं । बतास अर्गनाइजेशनद्वारा सञ्चाललित बतास ट्र्याक्टरको व्यापार ह्वात्तै घटेको छ । कम्पनीको व्यापार सन् २०२३ मा ६६.१४ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२२ मा ७६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा २५ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा ७५ करोड रुपैयाँ, सन् २०२० मा ४६ करोड ३० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०२३ मा ६६ प्रतिशतले कारोबार घट्दा नाफामा पनि उच्च असर परेको छ । कम्पनीले निर्माण सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको छ । कम्पनी क्याटरपिलर निर्माण सामग्री, गोदरेज सामग्री र प्रोपेल–ब्रान्डेड सामग्रीको आधिकारिक विक्रेता हो ।

कम्पनीले सन् २०१७ देखि क्याटरपिलर निर्माण सामग्री, सन् २०१८ मा गोदरेज सामग्री र सन् २०२० देखि पोप्रोल प्रोडक्ट बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा आनन्दराज बतास र शान्तराज बतास र उनका परिवारको सदस्य गरी ५ जनाको स्वामित्व छ । जसमा आनन्दराज र शान्तराज बतासको ६१ प्रतिशत स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ७५ करोड १० लाख रुपैयाँको दीर्घकालीन कर्जा र ४० करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।


क्लिकमान्डु