विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गाः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरे ।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताए ।

‘यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ’, उनले भने, ‘अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ ।’


क्लिकमान्डु