युनिभर्सल इन्स्टिच्युट अफ एड्भान्स स्टडिसले एकै वर्ष गर्‍यो डेढ अर्बको कारोबार



काठमाडौं । युनिभर्सल इन्स्टिच्युट अफ एड्भान्स स्टडिस एण्ड रिसर्चले एकै वर्ष डेढ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ३९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३० करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३० करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९८ मा स्थापना भएको कम्पनीले निजी मेडिकल कलेज र टिचिङ हस्पिटलको सेवा दिँदै आएको छ । रुपन्देहीको सिद्धार्थनगरमा ५ सय शय्याको सुविधासहित सेवा दिँदै आएको अस्पतालले मेडिकल र अन्य विषयको अध्ययन गराउँदै आएको छ ।

कम्पनीले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बी फर्मा आदिको र अन्य ग्राज्युएड र पोस्ट ग्राज्युएड कोर्स अध्ययन तथा अध्यापनको सेवा दिइरहेको छ । कम्पनीमा एभरेष्ट कलेज अफ मेडिकल साइन्स प्रालिको ६० प्रतिशत हिस्सा छ । रमेश शर्मा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२३ मा १० प्रतिशतले आम्दानी बढेको उल्लेख छ ।

त्यसैगरी, हस्पिटलको अकुपेन्सी ५९.२ प्रतिशत प्रयोग भएको छ । सो वर्ष बिरामी संख्या १३ प्रतिशतले बढ्दा आम्दानी बढेको कम्पनीले जनाएको छ । साथै, सन् २०२१/०२२ र २०२२/०२३ मा मेडिकल कलेज सेग्मेन्टमा विदेशी विद्यार्थी बढी भर्ना हुँदा आम्दानीमा प्रभाव परेको देखिएको छ ।

३५ हजार स्क्वायर ६ सय स्क्वायरमिटर क्षेत्रफलामा फैलिएको हस्पिटलले विभिन्न ६ वटा सेग्मेन्टमा विशेष सेवा दिँदै आएको छ ।


क्लिकमान्डु