भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै, दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रमा हस्ताक्षर हुँदै



काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि नेपाल आउँदै छन् ।

नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बस्दै छ । बैठकका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर दिल्लीबाट नेपाल आउन लागेका हुन् ।

भारतको विदेश मन्त्रालयले संयुक्त आयोगको बैठकपछि जयशंकरले नेपालको नेतृत्वसहित प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।

जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल-भारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौता हुने तयारी छ ।

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरको रोहवरमा बिहीबार उक्त सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर हुने भएको हो ।

यस सम्झौताअन्तर्गत भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् किन्नेछ ।

०४४ मा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको हो । बैठकको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले मंगलबार पूर्वपरराष्ट्रसचिवहरू तथा भारतका लाग पूर्वराजदूतहरूसँग सुझाव लिएका छन् ।


क्लिकमान्डु