बालेनले गरे तीन कर्मचारीलाई निलम्बन, प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन



काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन कर्मचारीलाई निलम्बन गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवति बिडारीलाई निलम्बन गरेका हुन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा राखिएको मेयर शाहको सचिवालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा र तीन जनालाई निलम्बनमा गर्नुको कारण निर्णय प्रमाणीकरण र कार्यान्वयनका क्रममा भएको अनियमितता रहेको स्रोतको भनाइ छ ।

महानगरको २३ औं नगरसभामा १५ औं एजेन्डाका रुपमा राखिएको वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारमा रहेका कर्मचारीको समयावधि थप गर्ने एजेन्डा रहेअनुसार पाँच जनाको सेवा अवधि थप्ने निर्णय गरिएको थियो । तर, उक्त निर्णय प्रमाणीकरणपछि आउँदा भने ६ जनाको नाम प्राप्त भएको र महानगरका एक कर्मचारीको छोरीलाई पनि करारमा कर्मचारी सिफारिस गरिएको पाइएको थियो । वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीको नामसमेत थप गरेकी थिइन् ।

कानुनी सहजताका लागि महानगरले राख्ने गरेको इन्टर्नका लागि आएको विद्यार्थीलाई स्वास्थ्यअन्तर्गत करारमा राख्न खोजेपछि सम्बन्धित तीन जनालाई निलम्बन गरिएको हो । मेयर सचिवालय स्रोतले भन्यो, ‘लाइभ भएको नगर सभाको कुरामा नै मेयरको कोठाबाहिर बस्ने सचिवालयको मान्छेले यस्तो काम गरेकाले निलम्बन गरि छानबिन सुरु गरिएको हो ।’

महानगरले यसअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापालाई पनि कार्य सम्पादनमा जिम्मेवार नभएको भन्दै विभागबाट सरुवा गरि उक्त विभागको जिम्मा सुरज शाक्यलाई दिएको थियो । शाक्य महानगरको शहरी व्यवस्थपन विभागका पनि निर्देशक हुन् ।


क्लिकमान्डु