बज्रयान बहुउद्देश्यीय सहकारीमा सवा ५ करोड ठगी प्रकरणः उपाध्यक्ष भन्छन्- ससुरालीले फसाए



काठमाडौं । बचतकर्ताको ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ ठगीको आरोपमा बज्रयान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुणप्रकाश श्रेष्ठ पक्राउ परेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा आफूलाई ससुरालीले फसाएको बयान दिएका छन् ।

सहकारीका लेखा समिति संयोजक रविन्द्र बज्राचार्य आफ्नो सहोदर साडुदाई भएको र उनैले आफूलाई फसाएको बयान दिएका हुन् ।

‘रविन्द्र बज्राचार्यको साली नर्वदा श्रेष्ठसँग मैले २०६२ सालमा सामाजिक परम्परा अनुसार बिबाह गरेको थिएँ । उक्त समयमा म बस्ने समाजमा बिबाह गर्ने क्रममा बेहुला पक्षले आफ्नो नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु ससुराली पक्षका मानिसहरु समक्ष पेस गर्नुपर्ने प्रचलन रहेको थियो । मेरो सासु ससुराको स्वर्गारोहण भई सकेको हुँदा मैले आफ्नो नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु अभिभावकको नाताले निज रविन्द्र बज्राचार्य समक्ष पेस गरी बिबाह गरेको थिएँ’ उनले भनेका छन् ‘सोही क्रममा २०६९ सालतिर चाडपर्व मनाउनका लागि म रविन्द्र बज्राचार्यको घरमा गएका बखत निजले मलाई ज्वाँई साहेव हामी केही मानिसहरु मिलेर सामाजिक कार्य गर्नको लागी एउटा संस्था खोलेका छौं । उक्त संस्थामा तपाईंले सदस्यको रुपमा बसी सो संस्थाको रजिष्टर लगायतका कागजातहरुमा आफ्नो सहिछाप गरी सहयोग गर्नुपर्यो भन्ने कुरा गरेकाले मैले पनि रविन्द्र बज्राचार्यको विश्वासमा परि रजिष्टर समेतका कागजातहरुमा आफ्नो सहीछाप गरी दिएको थिएँ ।’ उनीहरुले नै आफूलाई फसाएको उनको दाबी छ ।

उक्त सहकारीका अध्यक्ष तथा सञ्चालकले बचतकर्ताको ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ ठगेर फरार भएको आरोप लागेको छ ।

फरार रहनेमा संस्थाका अध्यक्ष राजकुमार घिमिरे, कोषाध्यक्ष शतिशचन्द्र श्रेष्ठ, लेखा समिति सदस्य राजु भाई महर्जन, सञ्चालक समिति सदस्य रविन कार्की, लेखा समिति संयोजक रविन्द्र बज्राचार्य र पूर्व अध्यक्ष गौरी प्रभा श्रेष्ठ छन् ।

सहकारीका उपाध्यक्ष अरुणप्रकाश श्रेष्ठ पक्राउ परेका छन् ।

सहकारीका अधिकारीहरुले ५४ बचतकर्ताको उक्त रकम ठगेर सम्पर्कविहीन भएका हुन् । सहकारी मार्फत उनीहरुले बचतकर्ताको साढे ६ हजार देखि ६० लाख रुपैयाँसम्म ठगेको उजुरी परेको छ ।

अरुण प्रकाश श्रेष्ठको बयान

मैले विगत लामो समयदेखी काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमा रहेका जापनिज भाषा पाठशालाहरुमा जापनिज भाषा अध्यापन गराउने शिक्षकको रुपमा काम गरी आफ्नो जिविकोपार्जन चलाउँदै आएको छु ।

वज्रयान बहुउद्देश्यीय सहकारी संस्थाको संचालक समितिका पदाधिकारीहरु मध्येका लेखा समिति संयोजक रविन्द्र बज्राचार्य मेरो श्रीमतीको सहोदर भिनाजु अर्थात मेरो साँडु दाइ हुन् ।

रविन्द्र बज्राचार्यको साली नर्वदा श्रेष्ठसँग मैले २०६२ सालमा सामाजिक परम्परा अनुसार विबाह गरेको थिएँ । उक्त समयमा म बस्ने समाजमा विबाह गर्ने क्रममा बेहुला पक्षले आफ्नो नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु ससुराली पक्षका मानिसहरु समक्ष पेश गर्नुपर्ने प्रचलन रहेको थियो ।

मेरो सासु ससुराको स्वर्गारोहण भई सकेको हुँदा मैले आफ्नो नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु अभिभावकको नाताले निज रविन्द्र बज्राचार्य समक्ष पेश गरी विबाह गरेको थिएँ ।

सोही क्रममा २०६९ सालतिर चाडपर्व मनाउनका लागी म रविन्द्र बज्राचार्यको घरमा गएका बखत निजले मलाई ज्वाँई साहेव हामी केही मानिसहरु मिलेर सामाजिक कार्य गर्नको लागी एउटा संस्था खोलेका छौं ।

उक्त संस्थामा तपाईले सदस्यको रुपमा बसी सो संस्थाको रजिष्टर लगायतका कागजातहरुमा आफ्नो सहिछाप गरी सहयोग गर्नुपर्यो भन्ने कुरा गरेकाले मैलेपनि रविन्द्र बज्राचार्यको विश्वासमा परी रजिष्टर समेतका कागजातहरुमा आफ्नो सहिछाप गरी दिएको थिएँ ।

सोही क्रममा २०७४ सालतिर रविन्द्र बज्राचार्य समेतका मानिसहरुले काठमाडौं महानगरपालिका–१४ कलंकी स्थितमा वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नामक सहकारी संस्था सञ्चालन गरेका छन् भन्ने कुरा थाहा पाए ।

सो सहकारी संस्थाको विषयमा मैले खासै मतलब राखेको थिइनँ । मलाई आफ्नै पेशाले फुर्सद समेत नहुने हुँदा उक्त सहकारी संस्थामा जाने, आउने, रकम बचत गर्ने, पदाधिकारी तथा सेयर सदस्य बन्ने जस्ता कुनैपनि कार्य मैले गरेको छैन ।

मंसिर २१ गते दिउँसो ४ बजेको समयमा एक्कासी प्रहरीले मलाई काठमाडौं महानगरपालिका–१३ कालिमाटी स्थितमा फेला पारी तपाईको विरुद्धमा ठगी सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ भनी पक्राउ गरे । पक्राउ गरेपछी मैले के–कुन् कसुर गरेको रहेछु भनी बुझ्दा वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिको उपाध्यक्ष पदमा मेरो नाम उल्लेख भएको रहेछ ।

जाहेरवाला ज्ञान नारायण महर्जन, कबिता खत्री, बितिसा थापा, भुमा कुमारी श्रेष्ठ, अप्सरा खड्का, मेरिना रिसाल रंजित, बिमला क्षेत्री, निकी महर्जन, सर्मिला नेपाली, सानुमाया तामाङ, सोममाया तामाङ, अनिता लामा, सुकरानी तामाङ, पदम कुमारी श्रेष्ठ, सुजन मानन्धर, रमिला श्रेष्ठ, सन्तोष सिं, रिता चौधरी, गोपाल बास्कोटा, मिना के.सी., पूर्णमान महर्जन, रविन्द्र महर्जन, विन्दा कुलु, उर्मिला महर्जन, सेतीमाया घिसिङ, जानुका कुमारी त्रिपाठी, कान्छी शाही, दिलदेवी कसाई, कान्छी तामाङ र आइत बहादुर पुलामी समेत तथा निवेदक जनक बहादुर रावल समेतले म समेतको विरुद्धमा उजुरी पेश गरेको भन्ने कुरा मिसिल संलग्न कागजातहरुबाट सुनी थाहा पाएको हुँ ।

प्रस्तुत मुद्दामा मिसिल संलग्न जाहेरी दरखास्तमा उल्लेखित जाहेरवालाहरु तथा निवेदनमा उल्लेखित निवेदकहरुले वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रकम को कस्ले हिनामिना गरी ठगी गरेको हो भन्ने सम्बन्धमा मलाई थाहा छैन ।

मैले आफ्नो विबाह गर्ने क्रममा आफन्तको नाताले नातेदार रविन्द्र बज्राचार्य समक्ष आफ्न नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु पेश गरी निजको विश्वासमा परी निजले मलाई दिएका रजिष्टर लगायतका कागजातहरुमा आफ्नो सहिछाप गरेकोमा रविन्द्र बज्राचार्यले मेरो नागरिकताको प्रमाणपत्र दुरुपयोग गरी वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पेश गरेको र मलाई झुक्यानमा पारी उक्त सहकारी संस्थाको माइनट लगायतका कागजातहरुमा सहिछाप गर्न लगाएका रहेछन्, सो कुरा हालमात्र थाहा पाएँ ।

मिसिल संलग्न जाहेरी दरखास्तमा उल्लेखित जाहेरवालाहरु तथा निवेदनमा उल्लेखित निवेदकहरुले वज्रयान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा जम्मा गरेको रकम को–कस्ले ठगी गरेका हुन् भन्ने सम्बन्धमा मलाई थाहा छैन, उक्त रकम सोही सहकारी संस्था लिमिटेडको मिति २०६९ जेठ १२ गतेको साधारण सभाबाट निर्वाचित संचालक समितिका पदाधिकारीहरु अध्यक्ष राज कुमार घिमिरे, कोषाध्यक्ष सतिषचन्द्र श्रेष्ठ, सदस्य राजु भाई महर्जन, सदस्य रविन कार्की, लेखा समिति संयोजक रविन्द्र बज्राचार्य समेतको मिलेमत्तोमा निजहरुले नै ठगी गरेको हुनु पर्दछ ।

सो रकम ठगी गर्ने कार्यमा मेरो कुनैपनि संलग्नता छैन । विश्वासमा परी रविन्द्र बज्राचार्य समक्ष आफ्नो नागरिकता लगायतका परिचय खुल्ने कागजातहरु पेस गर्नु तथा निजले दिएका रजिष्टर लगायतका कागजातहरुमा आफ्नो सहिछाप गर्नु मबाट गल्ती भयो, यसमा कानून बमोजिम भोग्न मञ्जुर छु ।


क्लिकमान्डु