सीएनआईको सर्वेक्षण भन्छ: सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको छैन



काठमाडौं । पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् ।

अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य-विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नदेखिएको बताएको छ ।

सरकारले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएको भए पनि वास्तविकता त्यस्तो नभएको सीएनआईले जनाएको छ । अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई आधार बनाएर प्रस्तुत गरिएको सरकारको यस्तो तथ्यांक र जिकिर ठिक नभएको सीएनआईले उल्लेख गरेको छ ।

उद्योग व्यवसायस्तरमा गरिएको सर्वेक्षण रिपोर्ट सार्वजनिक गर्दै सीएनआईले समग्र बजार माग खस्किएको देखिएको जनाएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिएको जनाएको छ ।

परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो । सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो ।

सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको सीएनआईले जनाएको छ । सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो । यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ % ले घटेको देखिएको सीएनआईको रिपोर्टमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३ % ले संकुचन आएको छ । यसैगरी उद्योगहरूको कारोवार रकम अघिल्लो वर्ष २४.९४% ले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ % ले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा यो कूल ३०.५४ % ले खुम्चिएको छ ।

अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी-व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४% उद्योगी-व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२% उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन् । यसबाट सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार नआएको आफूहरुको बुझाइ रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६% ले संकुचा आएको छ । अघिल्लो वर्षको सोहि समयमा यो ४०.१७% ले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ % ले गिरावट आएको देखिन्छ ।

यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९% ले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप ९.५४% ले गिरावट आएको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२% ले संकुचन आएको देखिएको छ ।

परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३% सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमशमा ६२.५०% ले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन् ।

निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२०% ले घटेको छ । अघिल्लो वर्ष सोहि अवधिमा यो ४३.४३% ले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९% ले संकुचन आएको पाइएको छ ।

यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१% ले घटेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप २०.८० % ले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२% ले संकुचन आएको देखिएको छ । यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३% ले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५% उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५०% ले बढेको थियो तर यस वर्ष १७.७०% ले गिरावट आएको देखिएको छ । यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४% ले संकुचन आएको देखिएको छ ।

यसै गरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५ % ले बढेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १८.५०% ले घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा समग्र कारोबार रकममा ८.५२% ले संकुचन आएको रिपोर्टमा उल्लेख गरिएको छ ।

सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाशमा ४१.६७% यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा यस क्षेत्रमा ५०% व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका रिपोर्टमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु