परिसंघ अध्यक्ष राजेश अग्रवालको प्रश्न: के यो देशमा उद्योग खोल्नु अपराध हो ?
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले देशमा उद्योग खोल्नु अपराध हो भन्दै प्रश्न गरेका छन् ।
उद्योग खोल्छु, रोजगारी सृजना गर्छु, राज्यलाई कर तिर्छुभन्दा राज्यले अपराधी जस्तो व्यवहार गरेको उनको भनाइ छ ।
आइतबार डेडिकेटेड ट्रंक लाइनको विवादका विषयमा उद्योगीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले अहिले नेपालमा ६१ उद्योगले अपराध गरेको जस्तो प्रमाणित गर्न खोजिएको भन्दै असन्तुष्टि पोखे ।
‘नेपालमा नै बसौ, उद्योग खोलौ, रोजगारी सृजना गरौ, राज्यलाई कर तिरौं भने त्यो वातावरण नै छैन’ उनले भने ‘अहिले नेपालमा ६१ उद्योगले अपराध गरेको जस्तो प्रमाणित गर्न खोजिएको छ । राज्यलाई कर तिरौं भन्दा त्यो अधिकार उद्योगीलाई छैन भन्न खोजिँदैछ । त्यो अधिकार राजनीतिज्ञ वा कर्मचारीलाई मात्रै भएको जस्तो देखिएको छ । के यो देशमा उद्योग खोल्नु अपराध हो।’
हरेक संस्थामा उद्योगीहरुलाई अपराधीजस्तो व्यवहार गरिएको उनको दुखेसो छ ।
‘३५ वर्षअघि उद्योग लगाउनु अघि एक जनाले मलाई यो देशमा उद्योग लगाउनु अपराध हो भनेका थिए तर पनि उद्योग लगाएँ,’ उनले भने, ‘तर हरेक संस्थामा हामीलाई अपराधी जस्तो व्यवहार गर्छन् ।’