हामी सबै महसुल तिर्न तयार छौं, प्राधिकरणले प्रमाण दिनु पर्‍यो: पशुपति मुरारका



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारले नेपाल विद्युत प्राधिकरणले प्रमाण दिएको अवस्थामा आफूहरु महशुल तिर्न तयार रहेको बताएका छन् ।

‘हामी अदालत जाने र समय लम्बाउने पक्षमा छैनौं, प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन हाम्रो विनम्र आग्रह छ,’मुरारकाले भने, ‘तपाईं प्रमाण दिनुस्, हामी महसुल तिर्न चाहन्छौं । ’

मुरारकाले डेडिकेटेड लाइनबाट २४ घण्टा निर्वाध र निरन्तर बिजुली दिएको र ट्रंकलाइनबाट न्यूनतम ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा विजुली दिएको प्रमाण पेश गर्नु पर्ने बताए ।

कुनै उद्योगले प्राधिकरणबाट अनुमति नलिई विद्युत प्रयोग गरेमा विद्युत चोरी नियन्त्रण ऐन अनुसार कारबाही हुनु पर्ने मुरारकाले बताए ।

‘कुनै उद्योगले विद्युत चोरी गरेको हो भने विद्युत चोरी नियन्त्रण ऐन अनुसार कारबाही गर्ने र त्यसरी विद्युत चोरी गर्न सहयोग गर्ने कर्मचारीलाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्नु पर्छ,’ मुरारकाले भने, ‘विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरेको सर्त पुरा हुने गरी प्राधिकरणले प्रमाण दिनु पर्छ । उद्योगीले पनि प्रमाण प्राप्त भएको अवस्थामा महसुल तिर्नु पर्छ ।’

प्राधिकरण आफैंले बनाएको विद्युत महसुल संकलन विनियमावलीमा लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंकलाईनबाट निरन्तर विजुली लिन आवेदन दिनु पर्नेमा हाल प्राधिकरणले बिल जारी गरेका कुनै पनि उद्योगले अनुमति माग गर्दै आवेदन नै नदिएको मुरारकाले बताए ।

अनुमति नलिइ विद्युत प्रयोग गर्नेलाई विद्युत चोरी नियन्त्रण ऐन अनुसार कारबाही नगरी प्राधिकरणले फर्जी बिल जारी गरेको बताए ।


क्लिकमान्डु