पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही हुनुपर्छः सभापति यादव



काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति यादवले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताए ।

बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरु विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे । सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए ।

कुनै पनि लगानी लक्ष्य, उद्देश्य र बिजनेसबिना गर्न नहुने उनको तर्क छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने उनले बताए । उनले पोखरा विमानस्थलका सम्पूर्ण फाइल समितिले मगाएको भन्दै यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने स्पष्ट पारे ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको उनले बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको धारणा राखे । विकासविरोधी र मधेसविरोधी चिन्तन भएकाहरु काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको उनको जिकिर छ ।


क्लिकमान्डु