डेडिकेटेड र ट्रंकलाइन विवाद तत्काल समाधान गर्न महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रंक लाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

चरिकोटमा शुक्रबारदेखि सुरु भएको दोलखा महोत्सवको उद्घाटनमा महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रंक लाइनको विवादले व्यवसायीको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने भएकाले तत्काल समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

समस्यामा रहेको मुलुकको अर्थतन्त्र विस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत प्राधिकरण र व्यवसायीबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सिर्जना हुनसक्ने उनको भनाइ छ ।

उच्चस्तरीय आयोग बनाएर अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैंको लागि यस्ता किसिमका समस्याको समाधान निस्किने उनले बताए । ‘अहिले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुने संकेत देखिएको छ,’ उनले भने, ‘यसका लागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउनुपर्छ ।’

निजी क्षेत्रको आवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय र सर्वपक्षीय छलफलको आयोजना भएको प्रति विशेष आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले निजी क्षेत्र र पब्लिकको कन्फिडेन्स बढाउन सहयोग पुगेको बताए ।


क्लिकमान्डु