बालकुमारीमा तनाव: गोली लागेका एक जनाको मृत्यु



काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनीपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका एक पुरुष आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । किष्ट अस्पताल स्रोतका अनुसार घाइते भएर ल्याइएका उनको उपचारको क्रममा मृत्यु भएको हो । तर मृतकको पहिचान भने खुलेको छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रदर्शनकारीले अन्य सवारीसाधनमा समेत तोडफोड गरेका थिए । सुरक्षाकर्मीमाथि ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । प्रदर्शनमा उत्रिएका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईपीएसको कोरियन भाषामा सिप बिल्डिङमा आवेदन दिएका युवाले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएपछि आन्दोलनमा उत्रिएका थिए । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भएर अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने बताएपछि केही युवाले पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन लिन आदेश दिएको थियो । तर, रिट दायर गर्ने १८ जनाले मात्र आवेदन दिन पाउने गरी आदेश भएपछि अन्य युवा प्रदर्शनमा उत्रिएका थिए ।


क्लिकमान्डु