साओमीले ल्याउँदै पहिलो विद्युतीय गाडी



एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले आफ्नो पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गरिएको कार्यक्रममा कम्पनीले आफूहरु विश्वकै शीर्ष पाँच गाडी निर्माता कम्पनी बन्ने पनि घोषणा गरेको छ ।

साओमीले सार्वजनिक गरेको ‘एसयु सेभेन’ सुपर इलेक्ट्रिक मोटरसहितको गाडी रहेको कम्पनीले जनाएको छ । गाडीको नाममा रहेको एस युको अर्थ सुपर अल्ट्रा रहेको पनि कम्पनीले जनाएको छ । उक्त गाडीमा टेस्ला र पोर्सेजस्ता विश्वका शीर्ष गाडी निर्माताहरुको विद्युतीय गाडीमा भएको भन्दा विशेष सुविधाजनक प्रविधि र स्पिट रहेको कम्पनीका कार्यकारी प्रमुख लि जुनले दाबी गरेका छन् ।

साओमीको गाडी अबको केही महिनामा बजारमा उपलब्ध हुने बताइएको छ । सुरुवातमा विश्वकै ठूलो बजार चीनमा नै यसलाई सार्वजनिक गर्ने र त्यसपछि मात्रै विश्व बजारमा यसलाई ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी प्रमुख जुनले गाडी सार्वजनिक गरिएको कार्यक्रममा भनेका छन्, ‘१५ देखि २० वर्षसम्म कडा मेहनत गरेर हामी विश्वका शीर्ष ५ गाडी निर्मातामध्येको बन्नेछौं र चीनको समग्र अटोमोबाइल उद्योगलाई नै अगाडि ल्याउनेछौं ।’

साओमी स्थापित मोबाइल फोन निर्माता कम्पनी हो, जसले अन्य थुप्रै किसिमका स्मार्ट उपकरण पनि निर्माण गरेको छ । साओमीको गाडी पनि उपभोक्तामा यसको मोबाइल र अन्य उपकरणको इकोसिस्टमका कारण चर्चा कमाउने बताइएको छ ।


क्लिकमान्डु