रासायनिक मल कारखानाको पाइपलाइनबाट ग्यास लिक हुँदा भारतमा ६० जना अस्पताल भर्ना
एजेन्सी । भारतको तामिलनाडु राज्यमा रहेको एक रासायनिक मल कारखानाको पाइपलाइनबाट एमोनिया लिक हुँदा ६० जना घाइते भएका छन् ।
तामिलनाडु राज्यको चेन्नाईस्थित एक रासायनिक मल कारखानाको पाइपलाइनबाट एमोनिया ग्यास लिक हुँदा ६० जना अस्पतालमा भर्ना भएका छन् । इन्डिया कोरोमन्डेल इन्टरनेसनलको एन्कोर प्लान्ट छेउमा रहेको पाइपलाइनबाट एमोनिया ग्यास लिक हुँदा यस्तो भएको भारत सरकारले जनाएको छ ।
कारखाना नजिकका मान्छेहरलाई आँखा पोल्ने तथा स्वासप्रस्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएका ६० जनामध्ये ५२ जनालाई विशेष निगरानीमा राखिएको भारत सरकारले जनाएको छ ।
कारखानामा एमोनियाको सिपमेन्ट आउँदै गर्दा २.५ किलोमिटरको समुन्द्र मुनिको पाइपलाइनबाट एमोनिया ग्यास लिक भएको हो । भारत सरकारका तर्फबाट जारी भएको विज्ञप्तिकाअनुसार स्टोरेज टर्मिनल र गेटको छेउमा गन्ध आएपछि ग्यास लिक भएको पत्ता लागेको थियो । एक दिन भित्रमा नै ग्यास पाइपलाइनमा लिक भएको ठाउँ पत्ता लगाएर समस्याको समाधान गर्ने भारत सरकारले जनाएको छ ।
भारतमा हालसम्ममा कैयौं पटक यस्ता रासायनिक मल कारखानामा ग्यास लिकको घटना भएका छन् । यीमध्ये सबैभन्दा खतरनाक घटना सन् १९८४ मा भएको थियो, जब भोपालमा रहेको युनियन कारबाइड इण्डिया लिमिटेडको कारखानाबाट मिथायल आसोसाइनेट लिक भएको थियो । यो घटनामा कम्तिमा ५ लाख मानिस जोखिमपूर्ण ग्यासका कारण कैयौं किसिमका समस्या भोग्न बाध्य भएका थिए भने कैयौंको मृत्यु भएको थियो ।