प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले तीन कम्पनीको संस्थापक सेयर बिक्री गर्दै



काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले एकैदिन तीनवटा कम्पनीबाट लगानी फिर्ता लैजाने भएको छ । कम्पनीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र आइसीएफसी फाइनान्समा रहेको सेयर लिलामीमा राखिएको हो ।

प्रुडेन्सियलको स्वामित्वमा नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार १ सय १२ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९ हजार ६ सय ७८ कित्ता र आइसीएफसी फाइनान्सको ९२ हजार ६ सय १६ कित्ता सेयर एकैदिन लिलामीमा राखेको हो ।

तीनवटै कम्पनीले प्रुडेन्सियल क्यापिटलको सेयर खरिदका लागि पुस १९ सम्म बोलकबोलमार्फत आवेदन पेस गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रुडेन्सियलको स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १ सय २० रुपैयाँ तोकिएको छ भने नेपाल लाइफको प्रतिकित्ता ३ सय २५ रुपैयाँ तोकिएको छ ।

यस्तै आईसीएफसीको सेयरमा भने प्रतिकित्ता १ सय ७५ रुपैयाँ तोकिएको छ । तीनवटै कम्पनीको सेयरमा आवेदन दिनका लागि इच्छुक लगानीकर्ताले न्यूनतम् १० हजार कित्ता खरिदका लागि आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु