करार र ज्यालादारी श्रमिकलाई समाजिक सुरक्षा कोषमा जोडिँदै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको जानकारी दिएका छन् ।

मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । प्रधानमन्त्री दाहालले देशभित्र श्रमिकको न्यूनतम ज्याला बृद्धि गरी १७ हजार ३ सय ५० रुपैयाँ पुरयाइएको बताए ।

वैदेशिक रोजगारमा रहेका र स्वदेशभित्र अनौपचारिक क्षेत्र स्वरोजगारमा रहेका समेत गरी ९ लाख ५० हजार कामदारलाई योगदानमा आधारित समाजिक सुरक्षा योजनामा समाहित गरिने घोषणा गरेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई बैंकसँग जोड्न नसक्दा मिटरव्याज र चर्को व्याजदरको शिकार हुनुपरेको बताउदै उनले वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण रुपमा अनलाइन प्रणालीसँग जोडन लागिएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समय छोट्याउन लागेको बताउदै प्रधानमन्त्री दाहालले राहदानी छपाई कार्य प्रतिस्र्पधाको आधारमा गर्ने जानकारी दिए ।

अनलाइनमार्फत राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताए । वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन आफु भरमग्दूर प्रयास गरेको बताउदै उनले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति कार्यलाई पूर्ण रुपमा अनलाईन प्रणालीमा लगेको दाबी गरे ।

२ बर्ष सीमालाई परिमार्जन गरी करार अवधि अनुसार श्रम स्वीकृति दिने व्यवस्था गरिएको उनको भनाई छ । विदेशस्थित नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्थादेखि टेलिमेडिसिन सेवासम्म उपलब्ध गराइएको प्रधानमन्त्री दाहालले बताए ।

वैदेशिक रोजगारीमा हुने ठगिलाई नियन्त्रण, राहत र उद्दार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, २४ औं घण्टा गुनासो सुन्ने श्रम कल सेन्टर सञ्चालनमा ल्याइएको उपलब्धीको रुपमा उनले उल्लेख गरेका छन् ।


क्लिकमान्डु