भोलिदेखि भृकुटीमण्डपमा रियल इस्टेट एक्स्पो हुँदै, ६० वटा स्टल हुने



काठमाडौं । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि १५ सम्म रियल इस्टेट एक्स्पो गर्न लागेको हो ।

यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराई व्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।

नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुऱ्याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुऱ्याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेछन् ।

आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ-आफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन् ।

यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।

मेलामा विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ-आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् ।

साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिने संघले जनाएको छ ।

मेलाबाट एकातर्फ योजनाबद्ध तरीकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो ब्यवसायमा आवद्ध ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवर्द्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ ।

घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास लिएको छ ।

सेवाग्राहीको ईच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरजग्गा उपलब्ध हुने गरी कारोबारलाई सरल, सुलभ तथा व्यवस्थित बनाउन यो मेला निकै उपयोगी हुनेछ संघको दाबी छ । मेलाबाट २ अर्ब ५० करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरेको छ ।

मेलामा कम्तीमा ६० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अवलोकनका लागि निः शुल्क पासको व्यवस्थापन गरिएको छ । साथै, हालसम्ममा ६० भन्दा बढी स्टलहरु रहने अपेक्षा गरिएको छ ।

मेलाको सह-संयोजक रोसन बयोधाले मेलाको स्टलहरूमा विभिन्न अफरहरूको सुविधा हुने भएकाले अवलोकनकर्ताले आफ्नो इच्छाअनुसारको सेवा लिन सक्ने बताए ।

संघका अध्यक्ष विदूर धमलाले नेपालमा घरजग्गा व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले सर्वसाधारणहरूले व्यवसायीप्रतिको सोच बदल्नुपर्ने बताए । उनकाअनुसार कम्पनी खडा गरेर कारोबार गर्ने व्यवसायी र अनौपचारिक कारोबार गर्ने व्यवसायीलाई एउटै स्थानमा राखेर धारणा बनाउन नहुने बताए । त्यस्तै, अध्यक्ष धमलाले नेपालको बैंकहरू उद्योगमैत्री नभएर व्यवसायिक भएको बताए ।


क्लिकमान्डु