प्राधिकरणले बिजुलीको लाइन काटेको भन्दै उद्योगका मजदुरहरुको प्रदर्शन



वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेवापतको रकम नतिरेको भन्दै लाइन काटेको बिरोधमा मजदुरहरुले प्रदर्शन गरेका छन् ।

बुधबार बिहान बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका हुन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

प्राधिकरणले बिजुली काटेपछि उद्योग बन्द हुँदा आफूहरुको रोजीरोटी संकटमा परेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

यी तीन उद्योगमा करिब ६ हजार मजदूर कार्यरत छन् ।

विद्युत् प्राधिकरणले उद्योगीहरुले नियमित बिजुलीको बिल तिर्दातिर्दै पनि अतिरिक्त शुल्क मागेर नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएको उद्योगीहरुको आरोप छ । व्यवसायीहरुले साढे तीन वर्षपछि मात्रै बत्ती प्रयोग गर्नुभयो र पैसा तिर्नुपर्छ भनेर प्राधिकरणले फर्जी बिल पठाएको आरोप लगाएका छन् ।


क्लिकमान्डु