वृद्धि गरेको तालिम शुल्क तत्काल फिर्ता गर्न ट्रेड युनियन कांग्रेसको माग



काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिममा वृद्धि गरेको शुल्कलगायतका श्रमिकविरोधी निर्णयहरु तत्काल फिर्ता लिन माग गरेको छ ।

युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको शुल्क वृद्धि, कोरिया जाने श्रमिकले एलजीको पोस्टपेड सिम र अनिवार्य अंग्रेजी भाषा उत्तीर्ण गर्नुपर्ने मन्त्रालयको निर्णयको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेको हो ।

युनियनका महासचिव अजयकुमार राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साहुको चर्को ब्याज र आफ्नो खेतबारी बन्दकी राखी वैदेशिक रोजगारीमा जान बाध्य युवालाई सहज बनाउनुको सट्टा पूर्व अभिमुखीकरण तालिम शुल्कमा चार गुणा वृद्धि, कोरियामा जाने श्रमिकले त्यहाँको प्रिपेड सिम चलाउँदा मासिक पाँच सयले पुग्ने ठाउँमा पोस्टपेड सिम चलाउँदा मासिक ४ हजार ८१४ रुपैयाँ पर्ने र थप अंग्रेजी भाषा सिक्न ३०-४० हजार खर्च भार हुने देखिन्छ । सरकारको यस किसिमको निर्णयले नागरिकको घाउमा झनै नुनचुक छर्किएको आभाष हामीलाई भएको छ ।’

यसैगरी, नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना नागरिकलाई देशभित्र नै मर्यादित रोजगारी सिर्जना गर्नसमेत राज्यसँग माग गरेको छ ।


क्लिकमान्डु