यसपटक जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस्ः प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस्’ उनले भने ‘जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन् ।’

कतिपय नीति नियमहरू पर्यटकमैत्री नभएको र तिनीहरू बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर लाग्न निर्देशन दिएका छन् ।
‘तपाईहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं’ उनले भने ‘ पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ ।’

‘एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो कुरा गरे पनि काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको छ’ प्रधानमन्त्रीले थपे, ‘राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ। यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ।’


क्लिकमान्डु