रुवान्डापछि स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्दै सरकार



काठमाडौं । नेपालले युरोपेली मुलुक स्विट्जरल्यान्डसँग हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्विट्जरल्यान्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्विट्जरल्यान्डसँग फेब्रुअरी पहिलो हप्ता काठमाडौँमा हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ । मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए ।

महाशाखाका प्रमुख लामिछानेले भने, ‘इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ ।’

ती दुवै मुलुकसँगको हवाई सम्झौताका लागि हालैको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । सरकारले छिट्टै रुससँग पनि नयाँ हवाई सेवा सम्झौता गर्दैछ । उक्त प्रयोजनका लागि पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि मंसिर १९ गते नेपाल र रुवान्डा सरकारबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको संख्या ४१ पुगेको छ । अन्य केही मुलुकसँग पनि हवाई सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु