पूर्वको तीनतारे ‘नेपालीरिका’ होटलले क्यासिनो सञ्चालन गर्ने, सवा अर्ब लगानी



काठमाडौं । मोरङको बिराटचोक र झापाको दमकमा रहेको तीन तारे होटल ‘नेपालीरिका’ होटलले क्यासिनो सञ्चालन गर्ने भएको छ । भारतीय पर्यटकलाई लक्षित गरी होटेलले बिराटचोकमा क्यासिनो थप गर्न लागेको हो । बिराटचोकको नेपालीरिका बिराटनगरबाट जम्मा २० किलोमिटरको दूरीमा छ ।

सन् २०२१ देखि सञ्चालनमा आएको होटेलले क्यासिनोसहित कोठा पनि थप्ने भएको छ । ८३ वटा कोठालाई थप गरेर १९२ बनाउन लागिएको हो । एउटा कोठा निर्माण गर्न ५८ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । क्षमता विस्तारका लागि होटेलको कूल लागत पनि बढेर १ अर्ब १३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

एक विघाह क्षेत्रफलबाट सुरु भएको होटेलले क्षमता विस्तारका लागि थप १० कठ्ठा जमिन किनेको होटलका लगानीकर्ता कृष्ण दुलालले बताए । दुलाल नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका पूर्वअध्यक्षसमेत हुन् । दुलालको लगानीमा बिराटचोकमै पूर्वाञ्चल लुब्रिकेट ओयल (पीएलओ) समेत सञ्चालनमा छन् ।

होटलले सन् २०२१ मा १ करोड २० लाख, सन् २०२२ मा ८ करोड ५० लाख रुपैयाँ व्यापार गरेकोमा २०२३ मा ११ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । क्षमता विस्तार र क्यासिनो सञ्चालनमा आएपछि होटेलको ब्यापार पनि उल्लेख्य मात्रामा बढ्ने दुलालले बताए ।

होटलको व्यवस्थापन भारतको क्रिम्सन होटल प्रालिले गर्दै आएको छ । भारतीयको व्यवस्थापनले भारतीय विभिन्न परिकारको राम्रो स्वाद नै होटलको विषेशता रहेको उनले बताए । होटलमा भोलेश्वर दुलालको ३६ प्रतिशत र राजेशकुमार अग्रवालको १८ प्रतिशत हिस्सा रहेको छ । भोलेश्वर कृष्णका दाई हुन् ।

सन् २०१८ मा स्थापना भएको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७७ करोड ५२ लाख पैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड ४ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु