५ वटा चिनियाँ जहाज बिक्री गर्न निगमद्वारा फेरि प्रस्ताव आह्वान



काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाज बिक्री गर्न फेरि प्रस्ताव आह्वान गरेको छ । पटक पटकको प्रस्ताव आह्वानमा जहाज बिक्री नभएपछि निगमले फेरि प्रस्ताव आह्वान गरेको हो ।

निगमले ५ वटा जहाज लिलामीको सूचना जारी छ । नेपाल एयरलाइन्सले दुईवटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न बिहीबार सार्वजनिक प्रस्ताव आह्वान गरेको हो । निगमले २०७७ साउनदेखि थन्काएको यी जहाज कोरोना महामारीपछि उडेका छैनन् ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड रहेका यी जहाज जहाँ जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न प्रस्ताव मागेको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने गरी जहाज बिक्री गर्न लागिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ ।

जहाज विक्री गर्न निगमले विहीबार गोप्य सिलबन्दी टेन्डर आह्वान गरेको छ । जहाज खरिदको लागि निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।

निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बिक्री गर्न लागेको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।

आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन् । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ ।

चिनियाँ जहाजले जहाज उडाएर नाफा कमाउन नसकेपछि यी जहाज विस्थापन गर्ने निर्णयमा निगम पुगेको हो । निगमले चिनियाँ जहाज बिक्री नाफामा उडाउन नसकिने र थप घाटा बेहोर्दा निगमलाई थप समस्या हुने भन्दै बेच्ने निर्णय लिएको निगमको भनाइ छ ।


क्लिकमान्डु