ट्राभल हिस्ट्रीमा भन्सार विभागलाई पनि पहुँच दिइने, अध्यागमनसँग सम्झौता हुँदै



काठमाडौं । भन्सार कार्यालयहरुले यात्रुको ट्राभल सम्बन्धी जानकारी हेर्ने भएका छन् । अध्यागमन विभागले एडभान्स प्यासेन्जर इन्फरमेसन ९एपीआई० को जानकारी भन्सार विभागलाई हेर्न दिने भएको छ ।

अध्यागमनले भन्सारलाई पीआईको जानकारीमा पहुँच दिने गरी सम्झौता हुन लागेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले एपीआईमा अध्यागमनले भन्सारलाई पहुँच दिन लागेको जानकारी दिए ।

‘१४ केजी सुन ल्याउने व्यक्तिले पटक पटक दुबई गएको भेटिएको छ, विभागले पछिल्लो समय विभिन्न व्यक्तिका विषयमा अनुसन्धान गर्दा ट्राभल हिस्ट्री अध्यागमनबाट ल्याउनु पर्दा समय लाग्ने गरेको छ,’ पौडेलले भने,‘यदी भन्सारको सिधा पहुँच एपीआईमा भयो भने कुन यात्रु कहाँ गएका छन् भन्ने थाहा हुन्छ । हामीलाई अनुसन्धान गर्न सजिलो हुन्छ ।’

मंसिर २१ गते राति फ्लाई दुबईको विमानमा आएका चन्द्र घलेको साथबाट १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो । यस्तै, २२ गते पनि राति पनि फ्लाई दुबईकै विमानबाट आएका यात्रुको साथबाट ६ किलो ५९० ग्राम सुन बरामद भएको थियो ।

१४ केजी सुन प्रकरणमा विभागका निर्देशक मनिराम पौडेलको नेतृत्वमा अनुसन्धान भईरहेको छ । पौडेल नेतृत्वको समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र सुन प्रकरणमा संलग्न विभिन्न व्यक्तिको ट्राभल हिस्ट्रीका विषयमा समेत अध्ययन गरिरहेको छ।

प्राधिकरणका केही कर्मचारीको मिलेमतोमा विमानस्थल भित्र बनेको व्यवसायीक रुपमा महत्वपूणर् व्यक्तिका लागि बस्न बनाएको शौचालय भित्रबाट सुन तस्कारी हुने गरेको विभागका महानिर्देशक पौडेल बताउँछन् ।

‘यो प्रकरणको अनुसन्धानले तस्करीको एक प्रकारको जालो तोड्ने निश्चित छ,’ पौडेलले भने,‘शंकास्पद विभिन्न व्यक्तिको ट्राभल हिस्ट्री समेत अध्ययन गर्नु पर्ने भएकाले हामीले अध्यागमनसँग एपीआईमा पहुँच दिन माग गरेका हौं ।’


क्लिकमान्डु