भन्सार विभागको सर्च अपरेसन: दाना भन्दै ल्याइएको बोरामा भेटियो १२० टन सुपारी



काठमाडौं । वीरगञ्जस्थित सुक्खा बन्दरगाहामा सर्च अपरेसन गरिरहेको भन्सार विभागको टोलीले १२० टन अवैध सुपारी नियन्त्रणमा लिएको छ । फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट खटिएको टोलीले सुपारी बरामत गरेको हो ।

भन्सार यार्डमा रहेका सामान कुन व्यवसायीको भन्ने छानबिनका क्रममा रहेको विभागले जनाएको छ ।

बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिवन्ध रहेका वस्तुहरुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउन व्यवसायीले सुपारीलाई फिड सम्लिमेन्ट बनाएका विभागका अधिकारीहरु बताउँछन् ।

पशुपन्छीको दानामा ५ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने, मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले व्यवसायीले तेस्रो मुलुकबाट पशुपन्छीको दाना भन्दै सुपारी, पोस्ता दाना ल्याउन खोजेको विभागका अधिकारीहरु बताउँछन् ।

गत फागुनमा भन्सार बिन्दुमा पुगेका सामानहरु सेटिङ नमिल्दा रोकिएको विभागका अधिकारीले जानकारी दिए । विभागबाट खटिएको टोलीले बुधबार मात्रै ६ वटा कन्टेनर खानतलासी गरेको थिए ।

६ वटा कन्टेरमा ३० देखि ३५ प्रतिशत फिड सप्लिमेन्ट र बाँकी सुपारी भेटिएको विभागका एक अधिकारीले जानकारी दिए । केही कन्टेनरमा मरिच लगाएतका सामान भए पनि व्यवसायीले दाल घोषणा गरेका छन् । इन्डोनेसिया, मलेसिया लगायतका तेस्रो मुलुकबाट पशुपन्छीको दाना राख्ने बोरोमा सुपारी हालेर ल्याइएको विभागले जनाएको छ ।

विभागले मंगलबार पनि २० टन सुपारी बरामद गरेको थियो । यस्तै, विभागले अहिलेसम्म पोस्ता दाना, छोकडा, मरिच लगायतका सामानहरु बरामद गरिसकेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएको सूचनापछि विभागले सर्च अभियान तीब्र पारेको हो ।

विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिव ३८० कन्टेनरहरू खोलेर चेकजाँचको काम सुरु गरेको छ । हालसम्म १९० कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको विभागले जनाएको छ ।

चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिवन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेको विभागले जनाएको छ । भन्सारमा कमजोर नेतृत्व भएको समयमा भन्सार छुटाउने गरि त्यस्ता सामग्रो बेवारिसे बनाइ राखिएको विभागका अधिकारीहरु बताउँछन् ।

६० दिनभन्दा बढी अवधिदेखि रहेका सबै प्रकारका मालवस्तु जफत गरी लिलाम गर्न र शंकास्पद कन्साइनमेन्टमा कडा निगरानी राख्न सबै भन्सार कार्यालयहरूलाई निर्देशन दिएको विभागले जनाएको छ ।


क्लिकमान्डु