दि नेपाल डिस्टिलरिजले बजारमा ल्यायो ‘एरिष्टोक्र्याट’



नेपालको मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले ४० युपी सेगमेन्टको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’ बजारमा ल्याएको छ ।

मदिरा उत्पादन गर्ने युगौदेखिको स्कटिश परम्पराबाट प्रेरित हुँदै उच्चकोटीको नेपाली ग्रेन स्पिरिट र स्कटिश मल्टको सम्मिश्रणबाट यो मदिरा तयार गरिएको छ ।

हल्का सुनौलो रङ भएको यो ब्लेण्डमा मीठो सुक्ष्म भेनिला र हल्का ओकको सुगन्ध पाउन सकिन्छ भने स्वादमा एक प्रिमियम ह्विस्की जस्तै हल्का फ्रुटी नोटको अनुभव हुन्छ ।

कुनैपनि उत्कृष्ट मदिरा पिउदा मात्र राम्रो नभएर पिइसकेपछि त्यसले दिने सुगन्ध अनि लामो अनुभव मुख्य गुण हो, जुन यो मदिराको प्रत्येक घुट्कीमा पाइने कम्पनीको भनाइ छ ।

सर्वाधिक लोकप्रिय ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिष्टिलरिजका लागि विशेष रुपमा तयार गरिएको यस अद्वितीय बोतलको आकार ऐतिहासिक युरोपिय महलका स्तम्भबाट प्रेरित छ ।

यसको सन्तुलित आकार, सुगठित काँध र स्थिर पिंधले एक प्रिमियम मदिरा हुनुको समग्र छविलाई पूर्णता दिने कम्पनीले बताएको छ ।

उपभोक्ताहरूको माग तथा उनीहरूको प्रिमियम मदिरातर्फको आकर्षणलाई ध्यानमा राख्दै नेपाली मौलिक स्वादलाई कायमै राखी यो उत्पादन तयार गरिएको दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले जानकारी दिए ।

उनकाअनुसार कम्पनीको पोर्टफोलियोमा पहिलो ४० युपीको प्रिमियम मदिरा ब्राण्ड ‘एरिष्टोक्र्याट’लाई विकास गर्नुअघि र पछि २ वर्षभन्दा बढी समय लगाएर व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरू सञ्चालन गरिएका थिए । ४० युपीको मदिरामा एबिभी (अल्कोहलको मात्रा) ३४.२३ प्रतिशत रहेको हुन्छ ।

नेपाल डिस्टिलरिजले मुख्यरूपमा २५ र ३० युपीको मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको पोर्टफोलियोमा यसअघि आफ्ना उत्कृष्ट उत्पादनहरू खुकुरी रम र न्युड सुपेरियर भोड्का समावेश छन् ।


क्लिकमान्डु