ट्वीनअटर किन्न तीन विदेशी कम्पनीको प्रस्ताव मूल्यांकन गर्दै वायुसेवा निगम



काठमाडौं । नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रको लागि उडान गर्ने ट्वीनअटर प्रकृतिको जहाज किन्न तीनवटा कम्पनीको प्रस्तावलाई मूल्यांकन गरिरहेको छ ।

वायुसेवा निगमकाअनुसार जहाज बेच्न भारतको हिन्दूस्तान एरोनटिकल लिमिटेड, क्यानडाको डे ह्याविल्याण्ड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्ड्रस्ट्रिजले प्रस्ताव हालेका छन् ।

निगमकाअनुसार तीनवटै कम्पनीको प्रस्तावमाथि एक साताभित्रमै मूल्यांकन सकिने गरी तयारी भएको छ । मूल्यांकन सकेपछि उपयुक्त कम्पनीको प्रस्तावलाई स्वीकार गर्ने र निगमले सोही कम्पनीबाट ३ वटा ट्वीनअटर जहाज किन्ने भएको छ । वायुसेवा निगमले आन्तरिक उडानको जहाज खरिद गर्न ४५ दिनको समय दिएर कात्तिक ५ गते सार्वजनिक प्रस्ताव माग गरेको थियो । निगमले आन्तरिक उडानमा आन्तरिक स्रोतबाटै ३ वटा ट्वीनअटर जहाज खरिद गर्ने गरी प्रस्ताव गरेको हो ।

निगमसँग हाल आन्तरिक उडानको जहाज २ वटा मात्रै उडानमा छ । जहाज अभाव भएको कारण निगमले यात्रुको चाप हुने क्षेत्रमा पनि सेवा दिन सकेको छैन् । निगमले अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाउने र आन्तरिक उडानमा सेवामूलक उडान गर्दै आएको छ । निगमले थप जहाजमार्फत अन्तरिक उडानमा यात्रुसेवा प्रभावकारी बनाउन खोजेको छ ।

निगमले आन्तरिक उडानमा तय गर्ने भाडादरलाई आधार बनाएर अन्य निजी वायुसेवाले समेत भाडादर तय गर्ने गरेका छन् । जसका कारण निगमले जति धेरै गन्तव्यमा आन्तरिक उडान गर्न सक्यो उत्ति नै प्रतिस्पर्धी भएर निजी क्षेत्र आउने बुझाइ पनि निगमको छ ।


क्लिकमान्डु