नाडामा आलोपालो नेतृत्व गर्ने सहमति, पहिलो अध्यक्ष गोल्छा कि चौधरी ?



काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । नाडाले सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न आलोपालो प्रणाली अपनाउने सहमति भएको हो ।

नाडाको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी, जीओ अटोमोबाइल्सका आकाश गोल्छा र प्रकाश कपुरीको दाबी छ । यी तीनबीच एक जनालाई अध्यक्षमा सर्वसहमत गर्ने र अर्का एकलाई वरिष्ठ उपाध्यक्षमा राखेर जाने विषयमा छलफल भइरहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । पहिलो चरणमा कपुरी करिब पछि हटिसकेको बुझिएको छ ।

‘आलोपालो गर्ने भन्नेमा सहमति भइसकेको छ तर को पहिला बन्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ उनले भने । यी तीन दाबेदारबीच को पहिला अध्यक्ष बन्ने भन्ने विषय टुंग्याउन अध्यक्ष थापासहितको बैठक बस्दै छ । उनका अनुसार मंगलबार साँझसम्ममा आगामी कार्यसमितिको अध्यक्षको टुंगो लाग्नेछ ।

पुस २० र २१ गते हुने नाडाको ४७औं वार्षिक साधारण साभाबाट २ वर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ नेतृत्वको अध्यक्षमा सर्वसहमति हुने भएपछि वरिष्ठ उपाध्यक्षलाई अर्को कार्यकालको लगि ‘वेटिङ प्रेसिडेन्ट’ राखेर जाने विषयमा करिब सहमति भएको अध्यक्ष थापाले बताए ।

नाडामा हाल ४ जना उपाध्यक्ष हुने व्यवस्था छ । उनका अनुसार नयाँ सहमतिबाट वरिष्ठ उपाध्यक्ष बनाउने र यसका लागि विधान संशोधन गरेर जाने विषयमा आवश्यक छलफल भइरहेको छ ।


क्लिकमान्डु