एनसेल किन्नेको सिंगापुरमा रहेको घरमा गएर दुई दिन बसेको छु: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद-ब्रिक्रीमा जोडिएका सतिशलाल आचार्यको सिंगापुरस्थित घरमा दुई दिन बसेको र त्यसकै भरमा उनले गरेको गडबडीमा छुट नपाउने दाबी गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले आफूमात्र नभएर पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मासमेतसँग उनको चिनजान भएको बताए । दाहालले जवाफ दिने क्रममा सतिशलालको नाम भने लिएनन् ।

श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर गएका बेला आफू दुई दिन उनको घरमा बसेको प्रधानमन्त्रीले जानकारी दिए।

‘बेलायतमा रातारात कम्पनी खडा गरेर किन्ने व्यक्तिलाई राम्रोसँग चिन्छु । सिंगापुरमा श्रीमती बिरामी भएका बेला दुई पटक गएको र बसेको छु । देउवाजी र ओलीजी पनि जानु भएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ ,’ प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिँदै भने, ‘तर त्यसको अर्थ ऐन, कानुन र हाम्रो सिष्टमका विरुद्ध कोही जान्छ भने जो सुकै होस् हामी लड्न तयार भएको हो । चिनेजानेको नाताले अनुहार हेरेर मानिँदैन ।’

एनसेलको सेयर खरिद ब्रिक्रीमा धेरै जालझेल छ भन्ने आफूलाई पनि लागेकाले छानबिन समितिमार्फत छानबिन गरी दोषी देखिए कारबाही गर्न लागेको उनले जनाए ।

छलफलका क्रममा सांसदहरुले एनसेलको सेयर खरिद गरेका आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे सोधेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको बताए ।
‘साँचो भएको भए म बाँच्न नसक्ने हुन्थ्यो । झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु’ उनले भने ।

उनले आफ्नो सचिवालयमा रहेकी छोरी सोझी रहेको बताए । ‘एउटी छोरी भरतपुरमा मेयर छ, उतै व्यस्त छे । एउटा छोरी छ, त्यो कस्ती छ, थाहा पाउनुभएकै छ’ छोरीहरुको बचाउ गर्दै प्रधानमन्त्रीले भने ।


क्लिकमान्डु