एनसेलको सेयर खरिद-बिक्री अस्वाभाविक छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर खरिद-बिक्री अस्वाभाविक रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । उनले एनसेलको वैदेशिक लगानी सेयर खरिद बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए ।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।

उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए । दाहालले एनसेल सेयर खरिद-बिक्री सहज नलागेकै कारण सरकारले अध्ययन समिति बनाएको स्पष्ट पारे ।

प्रधानमन्त्रीको भनाइ

एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेका छौँ । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।

यस प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले शुरुमै निर्देशन जारी गरेको हो, सहज र स्वभाविक छैन भन्ने देखिएको हुनाले नै निर्देशन जारी गर्नुपरेको हो । यसमा कहीँ न कहीँ गलत छ भन्ने लागेकैले छानबिन समिति बनाइएको हो । यसमा कहीँ कतैबाट कानून विपरितका काम कारबाही भए, गरेको पाइएमा कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ।


क्लिकमान्डु