सार्वजनिक ऋणको ब्याजमात्रै मासिक साढे ६ अर्ब, ५ महिनामा थपियो १३१ अर्ब ऋण



काठमाडौं । सरकारले सार्वजनिक ऋण लिएवापत ब्याजमात्रै मासिक औषतमा साढे ६ अर्ब रुपैयाँ भुक्तानी गर्न थालेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्मको तथ्यांक अनुसार आन्तरिक तथा बाह्य ऋण लिएवापतको ब्याजमात्रै ३२ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ भुक्तानी भएको छ । सार्वजनिक ऋण लिएवापत भुक्तानी भएको यस्तो ब्याज वापतको रकम मासिक औषतमा ६ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ भएको पनि उल्लेख छ ।

यो अवधिमा सरकारले जम्मा ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ आन्तरिक तथा बाह्य ऋणको सावा तथा ब्याज भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणको लागि ७० अर्ब ५६ करोड र बाह्य ऋणको लागि २१ अर्ब १९ करोड रुपैयाँ पछिल्लो पाँच महिनामा भुक्तानी गरेको तथ्यांकले देखाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा सरकारले प्राप्त गरेको ऋण भने १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा सरकारले प्राप्त गरेको यस्तो ऋणमा १ खर्ब ११ अर्ब ३१ करोड आन्तरिक छ भने १९ अर्ब ९७ करोड रुपैयाँ बाह्य ऋण छ ।

साँवा र ब्याज गरेर थपिएको ऋणका कारण सरकारको ऋणको भार अहिलेसम्मको गरी कुल २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । हालसम्म सरकारले ग्रहण गरेको यस्तो रकममा आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ छ भने बाह्य ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ पुगेको पनि तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु