धरौटीमा रिहाइको माग गर्दै इच्छाराज तामाङ सर्वोच्चमा, न्यायाधीश राउतको इजलासमा पेसी



काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगीको आरोपमा पक्राउ परि थुनामा रहेका घरजग्गा व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

आफूलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध तामाङ पुस १ गते सर्वोच्च अदालत पुगेका हुन् ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश र उक्त आदेशलाई सदर गर्ने उच्च अदालत पाटनको निर्णय बदर गराई धरौटीमा रिहा गर्न उनले माग गरेका छन् ।

तामाङले सर्वोच्च अदालतमा बेरितको निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदन आज (मंगलबार)का लागि पेसीमा चढेको छ । तामाङको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेसी परेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले करिब १ हजार ५०२ जना बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा ठगेर विदेश भाग्ने अन्तिम तयारीमा रहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७८ असोज १८ गते साँझ पक्राउ गर्‍यो । उनी पक्राउ परेर जेल पुगेको तीन वर्ष पूरा भएको छ।

असोज १८ गते पक्राउ परेका तामाङ विरुद्ध २०७८ मंसिर १७ गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो ।

बचतकर्ता ठगेको भन्दै सरकारी वकिलको कार्यालयले ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तथा बालबालिका, होस ठेगाना नरहने व्यक्ति, असहाय, निरक्षर वा ७५ वर्षभन्दा माथिका व्यक्तिलाई ठगी गरेमा हुने थप एक वर्षसम्म कैद सजाय गरी ८ वर्ष कैद सजायको माग गरेको थियो ।

उक्त समयमा विभिन्न १ हजार ५०२ जना व्यक्तिबाट प्राप्त उजुरीका आधारमा ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती समेत माग गरिएको थियो । तर, तामाङले करिब १६ सय भन्दा बढी बचतकर्ताको ८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बढी बचत अपचलन गरेको आरोप छ ।


क्लिकमान्डु