भिजिट भिसामा ‘लाइन चलाएको’ आशंकामा प्रमुख अध्यागमन अधिकृत पन्थीको सरुवा



काठमाडौं । भिजिट भिसामा ‘लाइन चलाएको’ आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीको सरुवा भएको छ ।

पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गर्दै विभागका महानिर्देशक तीर्थ भट्टराईलाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा मानव वेचबिखन अनुसन्धान ब्यूरोले भिजिट भिसा कार्यविधि अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई ‘लाइन चलाएर’ विदेश पठाउने धन्दामा पन्थी संलग्न रहेको प्रमाण पाएपछि गृह मन्त्रालयले पन्थीलाई सरुवा गरेको स्रोतले जानकारी दिएको हो ।

गत असोज ११ गते राति मानव बेचविखन अनुसन्धान ब्यूरो तथा केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा छापा मार्दै भिजिट भिसामा विदेश भएका व्यक्तिहरुको कागजात नियन्त्रणमा लिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता गौतम मिश्रका अनुसार विदेशमा गएर धेरै बेचिन थालेपछि इन्टरपोलको अपरेसन ‘लिभर टेरा टू’अन्तर्गत असोज ११ गते अपरेसन चलाइएको थियो ।

त्यस क्रममा १६५ जनाको राहदानी लिएर जाँच गर्दा बेचिने तयारीमा रहेको पाएपछि राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दै उनीहरुलाई विदेश जानबाट रोकिएको । सोही अनुरुप उनीहरुलाई बेचिने खतरामा भएकाले रोकिएको प्रवक्ता मिश्रले बताए । साथै विदेश गइसकेकालाई फिर्ता ल्याएको नभएर जाने तयारीमा रहेकालाई रोकिएको मिश्रले बताए ।

स्रोतका अनुसार इन्टरपोलको सहकार्यमा भएको अपरेसन ‘लिभर टेरा टू’ अन्तर्गत अध्यागमनमा छापा नहानिएको भए १६५ जना नै अध्यागमन अधिकृतलाई रकम बुझाएर विदेश जाने तयारीमा थिए ।

‘जाँचको क्रममा ती व्यक्तिहरु विदशमा घुम्नका लागि नभएर बेचिनका लागि जाने तयारीमा रहेको बुझेपछि कागजात नियन्त्रणमा लिएर राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका हौं,’ प्रवक्ता मिश्रले क्लिकमान्डुसँग भने ।

कार्यविधि अनुसार मापदण्ड नपुगेका व्यक्तिलाई समेत अध्यागमन अधिकृतले विदेश जान अनुमति दिएको पाएपछि प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो । ‘अनुसन्धानको क्रममा प्रमुख अध्यागमन अधिकृतको भूमिका फेयर देखिएन् ,’ स्रोतले भन्यो, ‘हामीले त्यहीँ अनुसारको प्रतिवेदन दिएका थियौं ।गृह मन्त्रालयले किन सरुवा गर्यो भन्ने हामीलाई थाहा हुँदैन ।’

भिजिट भिसामा विकृति गरेको गुनासोपछि गत असोज ९ गते गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणी दुवाडीले अध्यागमन कार्यालय अनुगमन गरेका थिए । स्रोतका अनुसार गृहमन्त्री र गृहसचिवको अनुगमनपछि भिजिट भिसामा विदेश जानेबाट अशुल्ने रेट बढेको थियो ।

सरकारले कडाइ गरेको भन्दै अध्यागमन कार्यालयले पुरुषको हकमा लाइन चलाउँदा २० हजार तथा महिलाको हकमा ५० हजार रुपैयाँ रेट राखेको थियो ।

त्यसअघि २०८१ जेठ ३ गते रबि लामिछाने र एक नारायण अर्यालयले अध्यागमन अनुगमन गरेपछि पुरुषको १२ हजार र केटीको ३५ हजार रुपैयाँ राख्दै लाइन चलेको जानकारहरु बताउँछन् । कार्यालय प्रमुखलाई कुल कारोबारको १० प्रतिशत रुपैयाँ बुझाइने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमानस्थलमा दैनिक १ देखी २ करोड रुपैयाँसम्मको भिजिट भिसा सम्बन्धी कारोबार हुने गर्छ ।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा लाइन चले अनुसारको पैसा सम्बन्धीत निकायमा नपुगेपछि भिजिट भिसामा चल्ने लाइन रोकिएको थियो,’ स्रोतले भन्यो, ‘ज‍ेठमा गृहसचिव र गृहमन्त्रीको अनुगमनपछि फेरि लाइन चल्न थालेको थियो । जब जब मन्त्रालयबाट मिडियामा हल्लाखल्खा गर्दै अनुगमन हुन्छ । तब अध्यागमन अधिकृतले लाइनको रेट बढाउने गर्छन् ।’

के हो ‘लाइन चलाउने’ भनेको ?

भिजिट भिसा सम्बन्धी कार्यविधि अनुसार भिजिट भिसामा विदेश जान योग्य नरहेका व्यक्तिलाई मोलमोलाइ गर्दै विदेश जान अनुमति दिनु लाई लाइन चलाउने रुपमा बुझिन्छ । ट्राभल एजेन्सीले भिजिट भिसामा काम गर्न भन्दै जाने व्यक्तिले विमानस्थलमा क्लियर हुने नहुने यकिन गर्दै टिकट काट्ने गर्छन् ।

ड्युटीमा भएका अध्यागन अधिकृतलाई ट्राभल एजेन्सीका एजेन्ट मार्फत पैसा बुझाएका व्यक्ति विस्तृत विवरण ह्वाटस् एपमा आउने गर्छ । नियमित प्रयोग गर्ने नम्बरको ह्वाट्सएपमा सूचना आदानप्रदान गर्दा प्रहरीले निगरानी गर्न सक्ने जोखिमका कारण अध्यागमन अधिकृतहरुले दुबई वा भारतको नम्बरमा ह्वाट्सएप चलाउने गर्छन् ।

सिफ्टमा रहेको एउटा ग्रुपले एक ह्वाट्सएप नम्बर चलाउने गर्छ । ‘सामान्यतया अध्यागन अधिकृत ड्युटीमा पुग्नुअघि नै लाइनमा रहेका व्यक्तिको जानकारी हुन्छ ।

यदि कार्याविधि अनुसार प्रक्रिया पूरा नगरेको कोही व्यक्ति आयो र त्यसको जानकारी ह्वाटसएपमा प्रष्ट भेटिएन भने अध्यागन अधिकृतहरुले बुझ्नुपर्ने भन्दै अध्यागमन डिपार्चरको पछाडि रहेको उपसचिवको कोठामा जाने गर्छन् ,’ स्रोतले भन्यो, ‘त्यहाँका उपसचिवले लाइनमा रहेको जानकारी दिएका उक्त व्यक्ति उडान गर्न पाउँछ । होइन भने फिर्ता गरिन्छ (अफलोड) विमान चढ्न अनुमति दिइँदैन ।’

भिजिट भिसा सम्बन्धी कार्यविधि अनुसार भिजिट भिसामा विदेश जान २ तर्फी टिकट ५०० डलर रकम बस्ने अवधिसम्मको होटल बुकिङ आवश्यक हुन्छ । स्रोतका अनुसार विगतमा अध्यागमन अधिकृत भइसकेका पन्थीले यस पटक प्रमुख अध्यागमन प्रशासन हुँदा नायब सुब्बा प्रयोग गर्दै लाइन चलाइको थिए ।


क्लिकमान्डु