अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम अस्पताल भर्ना, विष दिइएको शंका



एजेन्सी । अन्तर्राष्ट्रिय डन दाउद इब्राहिम पाकिस्तानको कराचीमा अस्पताल भर्ना भएका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार दाउदको स्वास्थ्यमा अचानक समस्या आएसँगै उनलाई कराचीको अस्पताल भर्ना गरिएको हो । अन्डरवर्ल्ड डन इब्राहिमलाई विष खुवाइएका कारण उनको स्वास्थ्यमा समस्या आएको समाचारहरु बाहिरिए पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको इण्डिया टुडे डट इनले जनाएको छ । उनलाई उच्च सुरक्षासहित अस्पतालमा राखिएको बताइएको छ ।

अस्पतालका उच्च ओहदाका चिकित्सक र उनी निकटका परिवारका सदस्यहरुलाई मात्र उनलाई राखिएको तलामा जान दिइएको सञ्चारमाध्यमले जनाएका छन् ।

इब्राहिमलाई सन् १९९३ को मुम्बइमा भएको बम आक्रमणपछाडिका मुख्य योजनाकार मानिन्छ । उक्त बम आक्रमणमा २५० भन्दा धेरै मान्छेको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए । सन् २००३ मा भारत र अमेरिकी सरकारले उनलाई आतंककारी घोषणा गरेको थियो ।

हाल भारत सरकारले मस्ट वान्डेड लिस्टमा राखेकामध्येका एक दाउद पनि हुन् । स्रोतकाअनुसार उनी पाकिस्तानको क्लिफटन क्षेत्रमा बस्दै आएका छन् ।


क्लिकमान्डु