अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति कति ?



काठमाडौं । भारत सरकारको ‘मस्ट वान्डेट’ सूचीमा रहेका दाउद इब्राहिमको अपराधिक पक्ष एकातिर छ, अर्कातिर उनको व्यापारीक पक्ष पनि छ । उनलाई चर्चित लागुऔषध कारोबारी पाब्लो एस्कोबार र एमान्डो कारिल्लो फुइन्टेसपछिकै धनी लागुऔषध कारोबारीका रुपमा हेरिन्छ । विश्वका शीर्ष ५ धनी अपराधीको सूचीमा दाउद पनि पर्छन् ।

सन् १९५५ मा जन्मिएका दाउदलाई भारतका लागुऔषधका कारोबारका ‘राजा’को रुपमा चिनिन्छ । दाउदका बुबा मुम्बई प्रहरीमा हेड कन्स्टेबल रहेको बताइन्छ।

युवा उमेरबाटै चोरी, ठगीलगायतका अपराधमा संलग्न भएका उनी कालान्तरमा स्थानीय डन बासु दादाको समूहसँग जोडिएका थिए । सन् १९७० को दशकमा दाउदले अपराधलाई पनि व्यवस्थित गर्नका लागि आफ्नै डि कम्पनीको सुरुवात गरे । मुख्य गरि हत्या, अपहरण, लागुऔषध कारोबार, आतंकवादजस्ता घटनाहरुमा उनको कम्पनी संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९९३ को मुम्बई बम आक्रमणका दाउद प्रमुख योजनाकार रहेको भारतीय पक्षको दाबी छ । त्यहि कारणले सन् २००३ मा उनलाई भारत र संयुक्त राज्य अमेरिकाले आतंकवादी घोषणा गरेका थिए । आतंकवादी घोषणा गर्दै दाउदमाथि २ करोड ५० लाख अमेरिकी डलरको पुरस्कार राशी राखिएको थियो ।

सन् २०११ मा अमेरिकाको केन्द्रीय अनुसन्धान ब्युरो र फोर्ब्सले उनलाई विश्वभरकै शीर्ष १० मस्ट वान्डेटको सूचीमा राखिएको थियो। दाउदका बारेमा अन्य विवरणहरु उपलब्ध छैनन् । उनी अहिले ६७ वर्षका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ ।

पछिल्लो समय दाउद पाकिस्तानको कराँचीमा बस्दै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, यसको कुनै पनि प्रमाण भने छैन । दाउदलाई पाकिस्तान सरकारले संरक्षण गरिरहेको भारतीय आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ।

सन् २०२३ मा दाउदको वास्तविक सम्पत्ति कति छ भन्ने कुरा यकिन छैन । तर, उनी जीवित रहेका अपराधीहरुमध्येमा धनी व्यक्तिमा भने पर्छन् । द गार्जियनकाअनुसार उनले सन् १९८० देखि १९९० को समयमा करोडौंको आपारधिक साम्राज्य खडा गरेका थिए ।

१९८६ मा भारतमा बस्न असहज भएपछि उनी दुबई गएका थिए । दुबईबाट नै उनले आफ्नो अपराधलाई निरन्तरता दिएका थिए । जसले उनलाई भारतको आपराधिक क्षेत्रमा सधैं शीर्ष स्थानमा राखेको छ ।

सन् २०२३ मा दाउदको नेट वर्थ कति छ भन्ने स्पष्ट नभए पनि सन् २०१५ मा भने फोर्व्स उनको अपराधिक साम्राज्यको अनुमान गरेको थियो । त्यो बेला उनको कुल सम्पत्ति ८ खर्ब ९५ अर्ब ४१ करोड ९४ लाख नेपाली रुपैयाँ (६.७ बिलियन अमेरिकी डलर) रहेको फोर्ब्सले जनाएको थियो ।

सन् २०१७ को एक रिपोर्टकाअनुसार दाउद हालसम्मकै दोस्रो धनी जीवित अपराधी हुन् ।

बिजनेस इन्साइडर इण्डियाकाअनुसार पाकिस्तानमा दाउदको ९ वटा रियलस्टेट सम्पत्तिहरु रहेका छन्, जसमध्ये एउटा बंगला पाकिस्तानका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीको घरकै छेउमा छ । बिलावल पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री हुन् ।

दाउदको पाकिस्तास्थित कराँचीको क्लिफटन क्षेत्रमा रहेको घर ३६ हजार स्क्वायर फिटमा फैलिएको र त्यहाँ निजी जिमदेखि स्वीमिङ पुललगायतका कैयौं सुविधाहरु रहेको बताइन्छ ।

दाउदसँग १० भन्दा धेरै देशमा गरेर ५० वटा सम्पत्तिहरु रहेको बताइन्छ । बेलायत, जमर्नी, फ्रान्स, टर्की, साइप्रस, मोरोक्को, युएई, पाकिस्तान, भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, स्पेन र नेपालजस्ता देशमा लगानी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दाबी छ ।

बेलायतमा मात्रै उनको सम्पत्तिको मूल्यांकन ४५० मिलियन अमेरिकी डलर (करिब ६० अर्ब नेपाली रुपैयाँ) रहेको बिजनेस इन्साइडर इण्डियाले जनाएको छ ।

भारतमा दाउदको सम्पत्ति भने सरकारले राष्ट्रियकरण गरेर बिक्री गरिसकेको छ । सन् २०२० मा भारत सरकारले दाउदको गृहजिल्ला रत्नागिरी (महाराष्ट्र)मा रहेको ६ वटा घरसम्पत्ति बिक्री गरेको थियो । त्यसअघि सन् २०१७ मा पनि दाउदका तीन सम्पत्तिहरु भारत सरकारले लिलाममार्फत बेचेको थियो ।

आपराधिक दुनियाँका बादशाह दाउद प्रायः चर्चामै हुन्छन् । तर, हाल भने उनी अचानक पाकिस्तानको एक अस्पतालमा भर्ना भएको घटना सार्वजनिक भएपछि फेरि चर्चामा छन् ।

कसैले उनलाई विष सेवन गराएका कारण अस्पताल भर्ना हुनुपरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, उनी पछिल्ला दुई दिनदेखि भने कराँचीस्थित एक अस्पतालमा उच्च सुरक्षाका बीच उपचारमा रहेको समाचारमा दाबी गरिएको छ।

एजेन्सीहरुको सहयोगमा


क्लिकमान्डु