अमेरिकी प्रतिबन्धपछि मलेसियामा चीप बनाउने बाटो खोज्दै चिनियाँ कम्पनीहरु



एजेन्सी । अमेरिका र चीनबीचको बिग्रिएको सम्बन्धका कारण पछिल्लो केही समययता चीपको क्षेत्रमा ठूलो प्रभाव परेको छ । यसैबीच चिनियाँ फर्महरुले भने मलेसियामा आफ्ना विशेष चीपहरुको एसेम्बल गर्नका लागि बाटो खोज्न थालेका छन् ।

समाचार संस्था रोयटर्सकाअनुसार बढ्दो संख्यामा चिनियाँ सेमिकन्डक्टर निर्माता कम्पनीहरुले मलेसियामा रहेका फर्महरुलाई उनीहरुको विशेष र हाइइन्ड चिपहरु बनाउनका लागि सहकार्य गर्ने बाटो खोज्न थालेका छन् ।

अमेरिकाले प्रतिबन्ध बढाउने उच्च जोखिमका कारण उनीहरुले विकल्प खोज्न थालेका समाचारमा जनाइएको छ ।

चिनियाँ कम्पनीहरुले मलेसियाका चिप फर्महरुलाई मुख्य गरि ग्राफिक्स प्रोसेसिंग युनिट (जिपियु)को एसेम्ब्लीका लागि सहकार्य गर्न खोजेका छन् । यसमा केही कम्पनीहरुले भने मलेसियामा रहेका फर्महरुसँग सम्झौता पनि गरिसकेको रोयटर्सले जनाएको छ।

उच्च क्षमताका जीपियुहरुको प्रयोग सुपरकम्प्युटर, सैनिक कार्य तथा आर्टिफिसियल इन्टिलिजेन्सको क्षेत्रमा बढ्दै गएको छ । यहि कुरालाई ध्यानमा राख्दै अमेरिकाले चीनमाथि विभिन्न किसिमले चीपको क्षेत्रमा प्रतिबन्ध लगाउने तथा कडाइ गर्ने गरि नै रहेको छ ।

यसबीच एआईको प्रयोग र एआई उद्योगमा भइरहेको विकासको गतिलाई ध्यानमा राख्दै चिनियाँ कम्पनीहरुले मलेसियालाई विकल्पका रुपमा हेरेको रोयटर्सले जनाएको छ ।


क्लिकमान्डु