एफपीओको प्रिमियम र मर्जर/प्राप्तिमा कर उठेपछि आईआरडीले मंसिरमा उठायो लक्ष्यभन्दा बढी राजस्व



काठमाडौं । मंसिर महिनामा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

सर्वोच्च अदातलले एफपीओको प्रिमियम तथा मर्जर/प्राप्तिको लाभमा कर लिने बाटो खुला गरेपछि विभागले मंसिर महिनामा लक्ष्यभन्दा १८.६२ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

मंसिर महिनामा विभागले ३७ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४४ अर्ब २ करोड रुपैयाँ संकलन गरेको हो ।

एफपीओको प्रिमियम तथा मर्जर/प्राप्तिको बार्गेन पर्चेज गेनमा कर तिर्दे शुल्क र जरिवाना छुट दिने सरकारको निर्णय कानून विपरित रहेको र आफूहरुले कर नै तिर्नु नपर्ने दाबी गर्दै बैंक तथा वित्तीय संस्थाले दायर गरेको रिट सर्वोच्च अदाततले खारेज गरेपछि शुक्रबार र शनिबार मात्रै उक्त शीर्षकमा १३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । जसले गर्दा विभागलाई लक्ष्य पूरा गर्न सहज भएको हो ।

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाको पक्षमा फैसला नदिएको भए मंसिर महिनामा करिब ३१ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने थियो ।

विभागले गत वर्ष मंसिर महिनामा २५ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

मंसिर महिनामा मात्रै लक्ष्य भन्दा १८.६२ प्रतिशत राजस्व संकलन गरेको विभागले मंसिरसम्म भने लक्ष्य भन्दा ११.८५ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

विभागले मंसिरसम्म १ खर्ब ९४ खर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा १ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

जुन गत वर्षको मंसिर मसान्तभन्दा बढी हो । विभागले गत वर्ष मंसिर मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।


क्लिकमान्डु