एनसेलको सेयर खरिद बिक्रीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा



काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको पेसी सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको हो ।

प्रतिनिधि सभाका सांसद अमरेश सिंहले आजियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्नु अवैधानिक रहेको भन्दै सांसद सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

यसअघि उच्च अदालत पाटनले एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु मंसिर २५सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो सेयर नेपाली मूलका सिंगापुरका नागरिक सतीशलाल आचार्यलाई बिक्री गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो । आजियटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स आचार्यको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।


क्लिकमान्डु