पुँजी बजारसम्बन्धी सम्पूर्ण सेवा दिनेगरी नबिल स्टक डिलर स्थापना



काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर औपचारिक रूपमा सञ्चालनमा आएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याललगायतको उपस्थितिमा डिलरको औपचारिक उद्घाटन गरिएको हो ।

पुँजी बजारसम्बन्धी नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष हमालले  धितोपत्र व्यापारीको रूपमा नबिल स्टक डिलरले आफ्नो गतिविधि सञ्चालनले पुँजी बजारको गुणात्मक विकासमा सहयोग पुग्ने अपेक्षा राखेको बताए । बैंकहरुका सहायक कम्पनीलाई धितोपत्र व्यवसायीको अनुमति दिने कार्य ऐतिहासिक भएको र यसले समग्र पुँजी बजार विकासमा नयाँ आयाम थपेको उनले बताए ।

नबिल बैंकले नेपालको पुँजी बजारमा नयाँ आयाम थप्ने उद्देश्यका साथ आफ्नो पूर्ण स्वामित्वको सहायक कम्पनीको रूपमा नबिल स्टक डिलर कम्पनी खडा गरेको अध्यक्ष पौड्यालले बताए । कम्पनीले अन्य देशमा प्रचलनमा रहेका राम्रा अभ्यासलाई नेपालमा ल्याउने तथा संस्थागत सुशासन कायम गर्ने उनले धारणा राखे ।

कार्यक्रममा सीडीएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले पुँजी बजारको विकासमा नबिल डिलरले उल्लेखनीय भूमिका निभाउन सक्ने विश्वास व्यक्त गरे ।

नबिल स्टक डिलरका अध्यक्ष निरज गिरिले नबिल स्टक डिलरले नेपालको पुँजी बजारमा पृथक् पहिचान कायम गर्ने बताए । नबिल स्टक डिलर एक विश्वासिलो एवं दरिलो धितोपत्र व्यवसायीको रूपमा स्थापित हुने अध्यक्ष गिरिको भनाइ छ ।

यसअघि नबिल सेक्युरिटिजको नामबाट कारोबार सञ्चालन गरेको कम्पनीले हाल नाम परिवर्तन गरी नबिल स्टक डिलरको रूपमा कार्य गरेको हो । कम्पनीले भदौ २० देखि आफ्नो कारोबार सञ्चालन गरे पनि औपचारिक उद्घाटन गरिएको थिएन । नबिल सेक्युरिटिज धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो । कम्पनीको अध्यक्ष गिरि धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक थिए भने प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा रहेका छन् ।

चुक्ता पुँजी एक अर्ब ५२ करोड रहेको संस्थाले हाल स्टक डिलर, पूर्णकालीन धितोपत्र दलाल सेवा, प्रत्याभूति सेवा, लगानी परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ । कम्पनीले चाँडै मार्जिन कर्जा, लगानी व्यवस्थापनलगायतका सेवा सञ्चालन गर्ने तयारीमा रहेको जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्जबाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर ७७) को अनुमति प्राप्त गरी आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु