पदावधि सकिनुअघि नयाँ स्टकलाई लाइसेन्स दिलाउन सेबोन अध्यक्ष हमालले बढाए सक्रियता



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकिन लाग्दा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्सको प्रक्रिया अघि बढाउन थप सक्रिय बनेका छन् । पुस २४ गते पदावधि सकिनुअघि नयाँ स्टकलाई लाइसेन्स दिलाउन बोर्ड अध्यक्ष हमालले दौडधुप तीव्र पारेका हुन् ।

बोर्ड सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री कार्यालयले रोकेको नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सहजीकरणको आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । बोर्डका एक सञ्चालकका अनुसार सम्भवतः आइतबार अर्थ मन्त्रालयमा पत्र पुग्नेछ ।

२०८० वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकिया रोकिएको छ । नयाँ स्टकको लाइसेन्स प्रक्रियामा नीतिगत भ्रष्टाचारको सुइँको पाइएको भन्दै प्रधानमन्त्रीले प्रक्रिया रोकेका थिए ।

अन्तर्राष्ट्रिय अभ्यास र गहन छलफलविपरीत नयाँ स्टक ल्याउन लागिएकाले प्रक्रिया रोकेको जानकारी प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताएका थिए । नयाँ स्टकको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोकिएको उनको भनाइ थियो ।

बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रिया वैशाख २७ गते अघि बढाएको थियो । नयाँ स्टकका लागि तीनवटा कम्पनीले आवेदन दिएका थिए ।

तर, नयाँ स्टकको लाइसेन्स प्रधानमन्त्री कार्यालयले मात्रै नभएर प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले पनि रोकेको थियो । अर्थ समितिले २०८० जेठ २९ गते नयाँ स्टकसम्बन्धी काम कारबाही अघि नबढाउन निर्देशन दिएको थियो ।

धितोपत्र बोर्डले कात्तिक १६ गते समितिलाई पत्र लेख्दै नयाँ स्टकको लाइसेन्समा सहजीकरण गर्न भन्दै पत्र लेखेको थियो । बोर्डले समितिलाई कात्तिक १६ गते पत्र लेखेपछि कात्तिक २४ गते साँझ बसेको अर्थ समितिको बैठकले लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

समितिले उक्त निर्देशन दिएसँगै सांसद स्वर्णिम वाग्लेले नोट डिसेन्ट लेखेका छन् । उनले नयाँ स्टकका सन्दर्भमा पुराना समितिले गरेको अध्ययनको भारी नबोक्न नहुने र यही समितिले अध्ययन गरेरमात्रै थप प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।

स्टक ल्याउने विषय निकै संवेदनशील भएको र यसमा प्रिपेड करप्सन भएकाले तत्काल प्रक्रिया अघि बढाउन नहुने उनको भनाइ थियो । नयाँ स्टक चाहिन्छ कि चाहिँदैन भनेर सबै पक्ष बसेर तिहारपछि अध्ययन गर्न उनले प्रस्ताव गरेका थिए ।

नयाँ स्टकका लागि अर्थ समितिले बाटो खोले पनि प्रधानमन्त्री कार्यालयले भने अझै रोकिराखेको छ । प्रधानमन्त्री कार्यालयले रोकेको भएर शुक्रबार बसेको धितोपत्र बोर्डको बोर्ड बैठकले उक्त अवरोध खुला गर्न भन्दै सहजीकरणका लागि अर्थ मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको हो ।


क्लिकमान्डु