आवासीय घर किन्ने बढे, चार महिनामै साढे २८ अर्बले बढ्यो कर्जा



काठमाडौं । बस्ने प्रयोजनका लागि घर किन्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २५६.३०९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आवासीय कर्जामा सीमा ५० लाखले बढाएर २ करोड रुपैयाँ पुर्याएको थियो । राष्ट्र बैंकले मौद्रिक नीतिअघि डेढ करोड रुपैयाँसम्म आवासीय घर कर्जा प्रवाह गर्दै आएको थियो । राष्ट्र बैंकले कर्जाको सीमा बढाएसँगै उक्त क्षेत्रमा ऋण लिनेको संख्या बढेको देखिन्छ ।

चार महिनाको अवधिमा साढे २८ अर्ब कर्जा प्रवाह हुँदा अहिले बैंकहरुको कुल व्यक्तिगत आवासीय घर कर्जा ३ खर्ब ७६ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत असारसम्ममा उक्त क्षेत्रमा कूल ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ कर्जा भएको थियो । गत वर्षको कात्तिकमा यो क्षेत्रमा कुल ३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

त्यस्तै, पछिल्लो समय घरजग्गा कारोबार बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार कात्तिक महिनामा २६ हजार किनबेच भएको थियो । कात्तिक महिनामा चाडपर्वले सेवा प्रवाह ठप्प हुँदा कारोबार घटेको देखिएको हो ।

विभागको तथ्याङ्कअनुसार असोजमा ४७ हजार ३९८ वटा, भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । पछिल्लो तथ्याङ्क हेर्दा घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको पाइएको छ भने कारोबार पनि बढेको देखिन्छ ।

तर, रियल इस्टेट कर्जा भने प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले रियल इस्टेट क्षेत्रमा कर्जा प्रवाहमा निरुत्साहित गर्दा उक्त क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको तथ्याङ्कले देखाउँछ । गत वर्ष रियल इस्टेट क्षेत्रमा २ खर्ब ४९ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । यो वर्षको कात्तिकसम्ममा ४ अर्ब ६८ करोड ४९ लाख रुपैयाँले घटेर २ खर्ब ४४ अर्ब ७५ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।

रियल स्टेट कर्जाअन्तर्गतको रेसिडेन्सियल रियल इस्टेट क्षेत्रमा भने १.५ प्रतिशतले कर्जा बढेको छ । राष्ट्र बैंकले २ करोड रुपैयाँभन्दा बढीको व्यक्तिगत घर कर्जालाई रेसिडेन्सियल रियल इस्टेट मान्ने गरेको छ । यो वर्षको चार महिनामा रेसिडेन्सियल रियल इस्टेट शीर्षकमा जम्मा ९७ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो शीर्षकमा गत वर्षको यसै अवधिमा ३ अर्ब ३० करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । हालसम्ममा रेसिडेन्सियल रियल इस्टेट क्षेत्रमा ६६ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, यो वर्षको चार महिनामा व्यवसायीक कम्प्लेक्स र आवासीय अपार्टमेन्ट क्षेत्रमा ६.८ प्रतिशतले बढेर २ अर्ब १२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा त्यस क्षेत्रमा कर्जा प्रवाह भएको थिएन । कात्तिकसम्ममा सो क्षेत्रमा कूल ३३ अर्ब १५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

भाडामा लगाउने व्यापारिक भवनमा जाने कर्जा पनि १६.५ प्रतिशतले घटेको छ । यो शीर्षकमा चालु आवको कात्तिकसम्ममा १ अर्ब ९० करोड ७३ लाख रुपैयाँ ऋण कम हुँदा हालसम्ममा ९ अर्ब ६७ करोड २ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै, अन्य रियल स्टेट (जग्गा खरिद र प्लटिङ)मा पनि ४.२ प्रतिशतले ऋण कम भएको छ । चालु आवको कात्तिकसम्ममा ५ अर्ब ८७ करोड ६४ लाख रुपैयाँ ऋण कम हुँदा १ खर्ब ४१ अर्ब ३२ करोड ९ लाख रुपैयाँबाट घटेर १ खर्ब ३५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँमा झरेको छ ।

तर, जग्गा खरिद र प्लटिङमा भने ४.७ प्रतिशतले कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार ५० लाख रुपैयाँसम्म र निश्चित उद्देश्य नभएको क्षेत्रमा जाने कर्जा ठप्प भएको देखाउँछ ।

साथै, घरजग्गाको अन्य क्षेत्रमा जाने कर्जा पनि ठप्प देखिन्छ । बजारमा कर्जाको माग नहुँदा सो अवधिमा ६ अर्ब ६९ करोड ४० लाख रुपैयाँ ऋणीले ऋण चुक्ता गरेका छन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाहरुले उठाएसँगै यस क्षेत्रमा हालसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले उक्त क्षेत्रमा ९ अर्ब २ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्लिकमान्डु