ज्योति विकास बैंकद्वारा जर्बुटा र खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान



काठमाडौं । ज्योति विकास बैंकले सुर्खेतको जर्बुटा र नुवाकोटको खड्ग भञ्ज्याङ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको हो ।

नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेसिन बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो ।

स्वास्थ्य चौकी जर्बुटामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका अध्यक्ष दिपेन्द्रराज कोइरालालाई बेबी वार्मर हस्तान्तरण गरेका छन् ।

बैंकले खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको जनाएको छ । ज्योति विकास बैंकले १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु