आर्थिक सूचकहरु सुधार हुँदै गएका छन्, सेयर बजारले सकारात्मक बाटो समात्यो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्।

पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए ।

‘विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ, चालु खाताको बचत बढ्ने क्रममा छ । कर्जा लगानी बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । विप्रेषण आम्दानी बढीरहेको छ,’ मन्त्री महतले भने, ‘अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा छ । यस्तै, हामीले सरकारी खर्च प्रणालीमा पनि सुधार गरेका छौं । बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड बनाउका छौं । तर, हामीले गरिरहेको प्रयासले उत्पादन बढ्न ,रोजगारीका अवसर सिर्जना हुन समय लाग्छ ।’

डा महतले बजारमा बढिरहेको निरासाका बीच सरकारले जिम्मेवार भएर सुधारका काम गरिरहे पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए ।

‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्या पनि छ । त्यसमा एक्कै पटक सुधार हुन सक्दैन, ’महतले भने,‘चालु आर्थिक वर्षको बजेट मार्फत् सरकारी खर्च प्रणालीमा केही सुधार गर्ने प्रयास गरेका थियौं । आगामी आर्थिक वर्षमा कुन क्षेत्रमा कस्तो सुधार गर्ने भन्ने विषयमा आन्तरिक तयारी सुधार भएको छ । सरकार संरचनात्मक सुधार गर्न जिम्मेवार तथा प्रतिवद्ध छ ।’

आफूले मन्त्रालयको नेतृत्व लिँदा बाह्य क्षेत्र दबावमा हुनुको साथैं अर्थतन्त्रका कैयौं सूचक सकारात्मक नभए पनि पछिल्लो समय सबै निकाय बीच सहकार्यमा भएको कामले अर्थतन्त्रले सही दिशा समाएको महतले बताए ।

कोरोना महामारीको क्रममा लिइएको लचिलो मौद्रिक नीतिले व्यापक कर्जा लगानी हुँदा अर्थतन्त्र दबावमा परेको महतको भनाइ छ ।

‘बाह्य क्षेत्र कमजोर भएपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निकै कसिलो मौद्रिक नीति लियो । जसले गर्दा बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र समस्यामा परेको थियो,’ महतले भने, ‘पछिल्लो समय राष्ट्र बैंकसँग भएको निरन्तरको छलफलबाट मौद्रिक नीतिमा सुधार हुन सकेको छ ।  मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशस् आर्थिक क्रियाकलापमा प्रतिबिम्वित हुँदैछ। घरजग्गा र शेयर कारोवार बढ्न सुरु भएको छ। हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ।’

विगतमा वित्त नीतिमा समेत बहुवर्षिय ठेक्कामा रहेको विकृति हटाउने अर्थमन्त्रालयले प्रयास गरिरहेको बताए ।

‘हामीले बजेट मार्फत् धेरै सुधारका प्रस्ताव गरेका थियौं । केही विषय कार्यान्व्यन भएका छन्, केही विषय कार्यान्वयन हुने क्रममा छन्,’ महतले भने ।

बढ्दो ऋणको सावाँ ब्याज दायित्वले सरकार चापमा परेको भन्दै वित्त नीतिमा समेत सुधार गर्नु पर्ने महतले बताए ।


क्लिकमान्डु