हिमालयन रि इस्योरेन्सको आईपीओ निष्कासन, कहिलेसम्म मिल्छ आवेदन दिन ?



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुला भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सर्वसाधारण सेय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले निष्कासन गरेको हो ।

कम्पनीले ३० लाख कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको छ । यस्तै ६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको कम्पनीले बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा पुस १ सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा पुस ११ सम्म आवेदन दिन सकिनेछ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिन्छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीको भावी रणनीति के छ ?

सेयर निष्कासन गरेको कम्पनीले केही भावी रणनीतिसमेत तय गरेको छ । कम्पनीले आफ्नो सेवा विस्तारको क्रममा विविधता ल्याउँदै नाफा वृद्धि गर्न प्रयास गर्ने, व्यावसायिक तथा रणनीतिक साझेदारहरुसँग सम्बन्ध स्थापित गर्ने तथा थप सुदृढ गर्ने, कम्पनीलाई विभिन्न अफ्रिकी तथा एसियाली मुलुकहरुमा ब्रान्डिङ गर्दै व्यवसाय वृद्धि गर्ने, बीमामा स्रोतको विविधता, भौगोलिक विविधता, बीमाको प्रकारको विविधता तथा विभिन्न प्रकारको विविधता ल्याउने प्रयास गर्ने रणनीति बनाएको छ ।

यस्तै बीमा बजारको प्रामाणिक तथ्यमा केन्द्रित रही खोज तथा अनुसन्धान गर्ने, वर्तमान र नयाँ बजारको तथा ग्राहक वर्गको खोज गरी सेवा प्रवाह गर्ने, कम्पनीले कम्पनीका लागि जग्गा खरिद गरी व्यावसायिक भवन निर्माण गर्ने रणनीति बनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासनबाट प्राप्त रकमलाई काठमाडौं उपत्यकाभित्र नै जग्गा खरिद गरी कम्पनीका लागि व्यावसायिक भवन निर्माण कार्य यथाशीघ्र प्रारम्भ गर्ने रणनीति बनाएको छ ।

को को छन् सञ्चालक ?

हिमालयन रि-इन्स्योरेन्समा अहिले ७ जना सञ्चालक छन् । सञ्चालकमा रहेका ७ जनामध्ये संस्थापक सेयरधनी ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण समूहका सेयरधनीबाट निर्वाचित २ जना छन् ।

कम्पनीको अध्यक्ष शेखर गोल्छा हुन् । उनी हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रतिनिधि हुन् । गोल्छा उक्त कम्पनीका अध्यक्ष र प्रबन्ध सञ्चालक हुन् । हिमालयन रिइन्स्योरेन्समा उक्त कम्पनीको २० लाख कित्ता सेयर स्वामित्व छ ।

जगदम्बा मोटर्स प्रालिको तर्फबाट शाहिल अग्रवाल सञ्चालक भएका छन् । उनी मोटर्सका अध्यक्ष हुन् । हिमालयन रि-इन्स्योरेन्समा ३२ लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीको सञ्चालकमा अमित मोर रहेका छन् । उनको ६ लाख ५ हजार ३३४ कित्ता, सञ्चालक साक्षी वंसल गुप्ताको ४ लाख कित्ता सेयर स्वामित्व छ भने स्वतन्त्र सञ्चालक सुभासकुमार झुनझुनवाला छन् ।

संस्थाको संस्थापक तथा सञ्चालकमा ३० व्यक्ति तथा निजी कम्पनी

संस्थाको संस्थापक तथा सञ्चालकमा ३० व्यक्ति तथा निजी कम्पनी छन् । हिमालयन रि-इन्स्योरेन्समा अम्बर प्रोभेष्टमेन्ट प्रालिको ६७ लाख ८५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीको प्रमुख सेयरधनीमा सुलभ अग्रवाल र सुभि अग्रवाल रहेका छन्।

यस्तै राष्ट्रिय वाणिज्य बैंकको ५० लाख कित्ता, नेपाल बैंकको ५० लाख, इन्फिनिटी होल्डिङ्सको ४५ लाख कित्ता सेयर स्वामित्व छ । होल्डिङ्सको प्रमुख दिपक भट्ट रहेका छन् ।

कम्पनीमा जगदम्बा मोटर्सको ३२ लाख कित्ता सेयर स्वामित्व रहेको छ । मोटर्सको अध्यक्ष शाहिल अग्रवाल हुन् । उनी कम्पनीको सञ्चालकसमेत हुन् । विकास दुगडको २२ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

जगदम्बा स्टिल्सको २२ लाख कित्ता सेयर स्वामित्व रहेको छ । स्टिल्सको अध्यक्षमा शाहिल अग्रवाल नै रहेका छन् । यस्तै साफ्रोन सिके इन्भेष्टमेन्ट प्रालिको २० लाख कित्ता सेयर स्वामित्व छ । इन्भेष्टमेन्टको प्रमुखमा चुन्नाप्रसाद शर्मा, कमल किशोर मालपानी, नीतेश मालपानी, प्रकाश पौडेल र रघुनाथ घिमिरे रहेका छन् ।

हिमालयन रि-इन्स्योरेन्समा हंसराज हुलासचन्द एण्ड कम्पनीको २० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीको अध्यक्ष र प्रबन्ध सञ्चालक शेखर गोल्छा रहेका छन् । उनी रि-इन्स्योरेन्सको अध्यक्ष हुन् ।

रिइन्स्योरेन्समा आरएमसी कन्ष्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट प्रालिको १५ लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीका मुख्य संस्थापकहरु श्रवण कुमार अग्रवाल, राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवाल रहेका छन् ।

यस्तै सशीकान्त अग्रवालको १५ लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीमा कार्भी ग्लोबल प्रालिको १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । कार्भी ग्लोबल प्रालिको एकमात्र सेयरधनी शाहिल अग्रवाल रहेका छन् ।

यस्तै अटल फिन्कोर्प प्रालिको १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । अटल कम्पनीको एकमात्र सेयरधनी शाहिल अग्रवाल रहेका छन् ।

अकोर्ड फिन्कोर्प प्रालिको रिइन्स्योरेन्समा १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ भने कालिका फिनकोर्प प्रालिको १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यो कम्पनीका एकमात्रै सेयरधनी शाहिल अग्रवाल हुन् ।

सौर्य सिमेन्ट इन्टरप्राइजेजको १० लाख कित्ता सेयर स्वामित्व छ । कम्पनीको सञ्चालकमा सुलभ अग्रवाल, शरद गोल्छा र राजेश खरेल रहेका छन् । रि-इन्स्योरेन्समा सन्दिप अग्रवालको १० लाख कित्ता, राहुल ग्रवालको १० लाख कित्ता र विकास जेवि राणाको १० लाख कित्ता सेयर स्वामित्व छ ।

यस्तै शालिमा इन्भेष्टमेन्ट कम्पनीको १० लाख कित्ता सेयर स्वामित्व छ । जसको सञ्चालकमा जीवन अग्रवाल, अशोक कुमार वैद, राजकुमार वैद र विजय सिंह वैद रहेका छन् । राजेश हार्डवेयर प्रालिको १० लाख कित्ता सेयर स्वामित्व छ । हार्डवेयरका सञ्चालक गोपाल अग्रवाल हुन् । कान्तिपुर पब्लिकेसनका प्रबन्ध सञ्चालक कैलाशप्रसाद सिरोहियाको १० लाख कित्ता सेयर स्वामित्व छ ।

यस्तै कीर्ति एपेक्स प्रालिको १० लाख, कित्ता, ओण्डर भेन्चर्स प्रालिको १० लाख कित्ता, उज्जीवन मर्चेन्ट प्रालिको १० लाख कित्ता र अजन्ता होल्डिङ्सको १० लाख कित्ता सेयर स्वामित्व छ । यी सबै कम्पनीको सञ्चालकमा शाहिल अग्रवाल रहेका छन् ।

रि-इन्स्योरेन्समा एक्सप्रेस इन्भेष्टमेन्टको ९ लाख कित्ता सेयर स्वामित्व छ । इन्भेष्टमेन्टको सञ्चालकमा सरिता कोइराला रहेकी छन् । कामधेनु इन्भेष्टमेन्ट प्रालिको ९ लाख कित्ता सेयर स्वामित्व थियो । कामधेनुको सञ्चालकमा अञ्जली अर्याल रहेकी छन् ।

यस्तै पुशपति मुरारकाको ७ लाख २५ हजार कित्ता र शिरीशकुमार मुरारकाको ७ लाख २५ हजार सेयर स्वामित्व छ ।


क्लिकमान्डु