युनिलिभर नेपालको लाभांश पारित



काठमाडौं । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभाबाट १५८० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभाश पारित गरेको हो ।

युनिलिभरले लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्‍याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

युनिलिभरले ३०औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ । साधारणसभामा युनिलिभर नेपालका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भू-राजनीतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई बढी ध्यान दिएको बताए ।

युनिलिभर नेपाल व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनसाथ अघि बढ्ने क्रममा आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, मानव पुँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखापरेका व्यवधान हटाउँदै अघि बढ्न दृढ रहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर १८३.४ करोड पुगेको जानकारी गराए । उनका अनुसार उक्त नाफा १० वर्षयताकै उच्च हो । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ भने १५ प्रतिशत सर्वसाधारणको छ ।


क्लिकमान्डु