हिमालयन रि इन्स्योरेन्सको प्रिमियम आईपीओलाई अदालतको अनुमोदन



काठमाडौं । अदालतले हिमालयन रि इन्स्योरेन्सको प्रिमियममा जारी हुन लागेको आईपीओलाई अनुमोदन गरिदिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरोधमा दायर रिटमा अन्तरिम आदेश दिन उच्च अदालतले अस्वीकार गरेको हो ।

हिमालयन रिको प्रिमियम आईपीओ रोकिपाउन माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यमप्रसाद भट्टराईले उच्च अदालत पाटनमा संयुक्त रुपमा रिट दायर गरेका थिए ।

हिमालयन रिले मंसिर २७ बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु