ढाकाका कपडाले पाएनन् बजार



तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेका छन् ।

८ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।

एउटा सारी बुनिसक्न उनलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उनको भनाइ छ । बजारमा एउटा सारीको मूल्य छ हजारदेखि १३ हजार रुपैयाँसम्म पर्दछ । सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक २२ हजार रुपैयाँ नाफा निकाल्ने गरेको बताइन् । ‘सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ’ लिम्बूले भनिन् ।

उनीजस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आएकी छिन् । सात वर्षयता श्रीमान् हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उनले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पुर्याएकी छिन् । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा पाँचदेखि १० हजार रुपैयाँसम्म बचत गर्ने गरेको उनको भनाइ छ ।

सङ्खुवासभा मादी मूलखर्ककी उनले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका बुन्न सिकेकी थिइन् । सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गरिन् । त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उनको भनाइ छ । ‘पछि तानका सामानहरु किनेर ल्याएपछि कोठामा आफैँ बुन्न थालेँ । आफैँले बुन्दा धेरै फाइदा हुने रहेछ’, उनले भनिन् ।

मेन्छ्यायेम गाउँपालिका–२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्छिन । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ । एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा ८०÷९० को धागो लाग्ने उनी बताउँछिन् । उनका अनुसार बजारमा एउटा गलबन्दी दुई सयमा बिक्री हुन्छ । शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उनले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउँछिन् ।

उनीजस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्छिन । प्रतिमिटर ८ सय रुपैयाँको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उनको भनाइ छ ।

म्याङलुङबजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ । ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् । पेसाकै रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन् ।

म्याङलुङ बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण गरिएको छ । तेह्रथुमका ढाका बुन्नेहरुको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको १० लाखमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताइन् ।

तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट वार्षिक एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ । तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको अध्यक्ष उनको भनाइ छ । म्याङलुङ नगरपालिका रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा ढाका कपडाका पसल छन् । ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन्, ‘पहिला छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी काठमाडौँमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि उत्पादन हुन थालेपछि माग कम भएको छ ।’ सरकारले प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोशाक अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उनको भनाइ छ ।

म्याङलुङमा ढाकाको कपडा पसल सञ्चालन गर्दै आएकी उज्ज्वलता सुब्बा दैनिक २०-२५ हजारको ढाका कपडा बिक्री हुने गरेको बताउँछिन् । उनका अनुसार म्याङलुङबजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन् । थोरै लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि बजारको अभावमा विस्तारै व्यवसायीहरु निराश देखिन्छन् । गाउँगाउँबाट स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव पारेको छ ।-रासस


क्लिकमान्डु