फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा तरलता बढेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत आइतबार १४ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
बजारमा लगानी योग्य पुँजी पर्याप्त हुनुको साथै अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा मुनि भएपछि राष्ट्र बैंकले बोलकबोल विधिमार्फत बजारबाट निक्षेप संकलन गरिरहेको छ । बोलकबोल विधिबाट कम ब्याजदर प्रस्ताव गर्ने बैंकबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ ।
यसअघि राष्ट्र बैंकले ७ पटक निक्षेप संकलन गरिसकेको छ । राष्ट्र बैंकले मंसिर ६ गते १० अर्ब, मंसिर १२ गते १० अर्ब, मंसिर १४ गते १५ अर्ब, १७ गते १० अर्ब र मंसिर २० गते ७ दिनका लागि १० अर्ब संकलन गरेको थियो ।
मंसिर २१ गते १४ दिनका लागि २५ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको राष्ट्र बैंकले मंसिर २२ गते पुन: १४ दिनकै लागि २५ अर्ब निक्षेप संकलनका लागि सूचना निकालेको थियो ।
यसअघि बैंकहरु बोलकबोल विधिबाट ०.४९ प्रतिशत ब्याजदरमा पनि राष्ट्र बैंकमा पैसा राख्न तयार भएका थिए । मंसिर २३ गते भने बैंकहरुले कम्तीमा ०.९ प्रतिशत ब्याजदरमा पैसा राखेका छन् ।
ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तर बैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने र निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्छ ।